धरान : सङ्खुवासभाको सभापोखरी गापा-२ ज्यामिरेमा आपसी विवादका बिच खुकुरी प्रहारबाट २९ वर्षीय रविन चाम्लिङ राईको मृत्यु भएको छ ।

शरीरको विभिन्न भागमा खुकुरी प्रहारबाट गम्भीर घाइते भएको राईको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार हुन नसकेपछि थप उपचारको लागि वीपी प्रतिष्ठानमा ल्याइएको थियो ।

उनको उपचारको क्रममा शनिवार बिहान साढे ७ बजे मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाए अनुसार शुक्रवार बेलुका विक्रम राईको घरमा धामी राखेको ठाउँमा गएका स्थानीय २९ वर्षीय रविन चाम्लिङ राई र २६ वर्षीय सहन्शिल राई बिच आपसी विवाद हुँदा सहन्शिल राईले रविन चाम्लिङ राईलाई खुकुरी प्रहार गरेको हो ।

शरीरको विभिन्न भागमा प्रहार गरी घाइते बनाई फरार भएका थिए । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी धुपुबाट गएको प्रहरी टोलीले हत्यामा संलग्न सहन्शिल राईलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट घट्नाको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।