धरान : झापाको गौरीगञ्ज गापा-१ हुलाकी सडकमा मोटरसाइकलको ठक्करबाट साइकल यात्री गौरीगञ्ज–३ का ४० वर्षीय अकालु माझीको मृत्यु भएको छ ।

झापा र मोरङमा ३ दिन भित्र साइकल यात्रीलाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको दोस्रो घटना हो । यसअघि शनिवारका दिन मोरङको पथरी शनिश्चरेमा मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्री वडा १० का ५० वर्षीय प्रेस बहादुर चौहानको मृत्यु भएको थियो ।

आइतबार राती ९ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको म ४ प ४२२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको साइकल आपसमा ठक्कर खाई दुर्घटना भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

दुर्घटनामा घाइते साइकल यात्री माझीको बिर्तामोड स्थित बिएण्डसी हस्पिटल ल्याउने क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार घाइते ३५ वर्षीय खोद नारायण महतो, २६ वर्षीय रतनसिंह राजवंशी र २२ वर्षीय विकास महतोको उपचार भइरहेको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।