धरान : इलाका प्रहरी कार्यालय महेन्द्र नगर र बाङ्गे प्रहरी चौकीको प्रहरी टोलीले आइतबार साँझ ६ बजे वराहक्षेत्रका २० वर्षीय रोहन राई र समीर दर्जीलाई लागुऔषध सहित पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार साइकलमा आइरहेका उनीहरूलाई शङ्का लागि चेकजाँच गर्दा रोहन राई र साइकलमा पछाडि बसेका समीर दर्जीको लागुऔषध बरामद भएको हो ।

उनीहरूसँग नोफिन, एभिल, डाइजेपाम, ट्रमानिल, नाइट्रोजन, प्रोमेथोजिन गरी जम्मा ५६ ट्याब्लेट र सिरिन्ज ४ थान फेला परेको प्रहरीले जनाएको छ ।

यसैगरी आइतबार बेलुकी नै झापाको दमक-८ बाट इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले १९ वर्षीय शेखर परियार र २१ वर्षीय रोहित साहलाई लुकाइछिपाई राखेको लागुऔषध ब्राउनसुगर ५ ग्राम सहित पक्राउ गरेको छ ।

यसैगरी दिउसो साढे १२ बजे इलाका प्रहरी कार्यालय घैलाडुब्बाको प्रहरी टोलीले १ ग्राम २०० मिलिग्राम ब्राउन सुगर सहित २३ वर्षीय मनिष चौधरीलाई कन्काई-८ बाट पक्राउ गरेको छ ।