काठमाडौँ  : हीरा र गहनाको क्षेत्रमा नेपालकै अग्रपंतिमा रहेको आरबी डायमण्ड ज्वेलर्सले आफ्नो २७औँ वार्षिकोत्सवमा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई ल्याउने भएको छ ।

मंगलबार दरबारमार्गस्थित होटेल याक एण्ड यतीमा भव्य कार्यक्रमको आयोजना गरी आरबी डायमण्डले ज्याकलिन फर्नान्डेजलाई ल्याउने खबर सार्वजनिक गरेको हो।

आरबीले ३० मार्चमा आफ्नो २७औँ वार्षिकोत्सवको उपलक्ष्यमा भव्य ज्वेलरी रनवे गर्दैछ। जहाँ आरबी डायमण्डले आफ्नो ब्रान्डको उत्कृष्ट डिजाइनका नयाँ कलेक्सनहरू प्रदर्शन गर्नेछन् । सोही रनवेको शो स्टपरको भूमिका निर्वाह गर्न ज्याकलिन नेपाल आउन लागेकी हुन।

कार्यक्रम यहीँ मार्च ३० गते हुनेछ जसको शो ओपनरको रूपमा भने किम गुडबर्न आउने भएका छन्। हलिउड अभिनेता तथा मोडल किमको उपस्थितिले कार्यक्रममा थप रौनक थप्नेछ। उनले रनवेमा आरबीको पुरुषका डायमण्ड कलेक्सनहरू प्रस्तुत गर्नेछन्।

कार्यक्रमका लागी आफू हर्षित रहेको ज्याकलिनले बताएकी छन्। उनले हिजो कार्यक्रममै एक भिडियो सन्देशमार्फत आफू कार्यक्रमको लागी आतुर रहेको बताएकी हुन। किमले पनि भिडिओ सन्देश मार्फतै कार्यक्रमको लागी आफू तयार भएको खबर पठाएका थिए जुन कार्यक्रमको बिचमा देखाइएको थियो ।

आरबीले मंगलबार नै आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको पनि घोषणा गरेको छ। नयाँ ब्रान्ड एम्बेसडरमा आरबीले चर्चित कन्टेन्ट क्रिएटर, डिजाइनर र नेपालको फेसन उद्योगका प्रमुख व्यक्तित्व रेहान श्रेष्ठलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको हो।

आफ्नो कलाकृति, उत्कृष्ट गुणस्तर र सम्पदा-प्रेरित डिजाइनका लागि प्रख्यात आरबी डायमण्ड ज्वेलर्स सन १९९७ बाट सञ्चालनमा आएको हो।