हतुवागढी : भोजपुरको हतुवागढी-७ पिप्लेमा आगलागीबाट ज्यान गुमाएका बालबालिकाको परिवारलाई समवेदना प्रकट गर्न कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की बुधवार पीडित परिवारको घरमै पुगेका छन् ।

समवेदनाका साथमा मुख्यमन्त्रीले प्रदेश सरकारले प्रदान गरेको राहत रकम १-१ एक लाख रुपैयाँको दरले राहत रकम तिनै बालबालिकाको परिवारलाई उपलब्ध गराए ।

मुख्यमन्त्री कार्कीले ज्यान गुमाएका बालबालिकाका दुई परिवारलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट एक लाखका दरले राहत रकम हस्तान्तरण गरेका हुन् ।

राहत रकमलाई उनले प्रदेश सरकारले दुःखको समयमा सरकारले मलमपट्टी लगाएको बताए । मुख्यमन्त्री कार्कीले भने, ‘प्रदेश तथा स्थानीय सरकार घर आँगनकै सरकार भएकाले जनताको समस्यामा तथा पीडामा सधैँ साथ रहन्छ ।’

चेक हस्तान्तरण कार्यक्रममा भोजपुरबाट कोशी प्रदेशमा निर्वाचित सांसद विनोद बान्तवा राई, सृजना राई, कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मी प्रसाद पौडेलका साथै स्थानीय जनप्रतिनिधि सहभागी थिए ।

शनिवार भएको आगलागीमा स्थानीय रमेश कार्कीका ५ वर्षीय छोरी दिप्सीका कार्की, ३ वर्षीय छोरा दिउनिष कार्की र केदार कार्कीका ४ वर्षीय छोरा प्रनिष कार्कीको ज्यान गएको थियो ।

aaglagi pidit lai samvedana 2