विराटनगर : विराटनगर महानगरका गृहिणीहरूले सहरमा मदिरा नियन्त्रण गर्न र उनीहरूलाई रोजगारी दिलाउन महानगरपालिकासँग माग गरेका छन् ।

‘उपमेयरसित गृहिणी’ नामक महानगरले विशेष कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रमबाट वडाबाट सङ्घसंस्था, राजनैतिक दलमा आबद्ध नभएका गृहिणीहरूको भेलामा उक्त माग गरिएको हो ।

उनीहरूको माग सुनेपछि उपमेयर शिल्पा निराला कार्कीले अझै पनि धेरै महिलालाई आफ्ना अधिकारका विषयमा जानकारी नभएको बताइन् । संविधान प्रदत्त सबै किसिमका अधिकारबारे सहभागीहरूलाई जानकारी गराइएको उनको भनाई छ ।

मेयर नागेश कोइरालाले विराटनगरको सरसफाइमा गृहिणीहरूको अहम् भूमिका हुने चर्चा गर्दै घर आँगन मात्रै नभएर आफ्नो घर अगाडिको सडक समेत सफा राख्न आग्रह गरे ।

मेयर र उपमेयरको उपस्थितिमा भएको विराटनगरका सबै वडाका गृहिणीहरूको भेलामा उनीहरूका समस्या र सुझाव सुनेको कानुन शाखाकी प्रमुख शारदा थपलियाले बताइन् ।

गृहिणीहरूमा बोल्ने क्षमताको विकास र आफ्ना समस्या कहाँ गएर कसरी राख्ने भन्ने विषयमा जानकारी हुने उनको भनाई छ ।

न्यायिक समितिका सदस्य तीर्थेन्द्र नेउपानेले भेलामा सहभागीहरूले मदिरा नियन्त्रण र रोजगारी दिन प्रमुखता साथ उठाएको बताए । उनले भने, ‘मदिरा सेवनले गर्दा श्रीमान् र ससुराले घरमा दुःख दिने गरेको गुनासो उनीहरूका थियो ।’

विराटनगर-१८ की ६५ वर्षीय पार्वतीदेवी यादवले मदिराका कारण गृहिणी महिलाहरूले समस्या झेल्नुपरेको दुखेसो पोखिन् । उनले मदिराको बिक्री वितरण रोक्नुपर्नेमा जोड दिइन् ।

विराटनगर-१४ की मुन्नीदेवी यादवले बेरोजगार भएका कारण घर व्यवहार चलाउन समस्या भएकाले जागिर मागिन् । बेरोजगार भएर बस्दा घरपरिवारबाट समेत अपहेलित हुनुपरेको उनको भनाइ थियो ।

विराटनगर-१८ की शर्मिला साहले सडक बनाइदिन आग्रह गरिन् । उनले सडक नबन्दा छोराछोरीलाई विद्यालय जान निकै समस्या भएको गुनासो पोखिन् । विराटनगर-१२ की सुशीलादेवी राजवंशीले विभिन्न तालिम सञ्चालन गरेर गृहिणीहरूलाई स्वरोजगार बनाउन आग्रह गरिन् ।