विराटनगर : दलहरूले गठबन्धन बदलेर सङ्घीय सरकार परिवर्तन भए पनि कोशी प्रदेश सरकारमा त्यसको कुनै प्रभाव नपर्ने मुख्यमन्त्री केदार कार्कीले दाबी गरेका छन् ।
मोरङको झोराहाटमा शुक्रवार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री केदार कार्कीले सार्वजनिक रूपमा त्यस्तो दाबी गरेका हुन ।
मुख्यमन्त्री कार्कीले संविधान अनुसार प्रदेश सरकार चल्ने बताउँदै भने ‘संविधान अनुसार बनेको सरकार हो, सरकार बन्दा पनि माथिको गठबन्धनसँग टेकेर बनेको थिएन र माथिको गठबन्धन तलमाथि हुँदैमा यो सरकार फेरिने पनि छैन ।’
कार्यक्रममा मुख्यमन्त्रीले नारदमुनि पवित्रादेवी लुइँटेल स्मृति कोषद्वारा आयोजित झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार सञ्चारकर्मी सुशीला पाठकलाई प्रदान गरे ।
छत्रपति लुइँटेल सेवा निवृत्त शिक्षक सम्मान अन्तरगत झोराहाट स्थित सरस्वती माविका पूर्व शिक्षक शिवनारायण चौधरी र हरिनारायण दासलाई गरियो ।
विद्यार्थीहरू दिनेश खत्री, दीपिका कुमारी कार्की, मल्लीका विश्वास, आरती सरदारलाई छात्रवृत्ति प्रदान गरियो ।
पुरस्कृतहरूलाई बधाई दिदैं उनले समाजमा योगदान पुर्याउनेहरु प्रतिको सम्मानले खुसी तुल्याएको बताए । भने ‘यो ज्ञान कक्षाकोठा बाहिरको ज्ञान हो जसले समाजका लागि सोचेर आज सम्मानित हुनुभएको छ ।’