विराटनगर : नोना कोइराला स्मृति प्रतिष्ठान र केएचडिसी नेपाल, नेपाल लाइफ इन्स्योरेन्सको संयुक्त आयोजनामा बुढीगंगा गाउँपालिका-६ मा आइतबार भएको शिविरमा ३२५ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
गाउँपालिकाको स्वास्थ्य चौकीमा भएको शिविरको उद्घाटन वडाध्यक्ष दिलीप चौधरी र गाउँपालिका अध्यक्ष जीतनारायण थापामगरले गरे । शिविरमा इसीजी, इको कार्डियोग्राफी, रगतको निःशुल्क ल्याब परीक्षणका साथै निःशुल्क औषधि र परामर्श दिइएको थियो । 
शिविरमा गरिएका ल्याब परीक्षणहरू अस्पतालमा गर्दा झण्डै ८ हजार रुपैयाँ भन्दा धेरै खर्च हुने प्रतिष्ठानका महासचिव अमित श्रीवास्तवले बताए ।
शिविरमा विशेषतः किड्नी, उच्च रक्तचाप, मधुमेह, फोक्सो र हृदयरोगको परीक्षण गरिएको उनले बताए । शिविरमा विद्यार्थीहरूलाई स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो ।
केएचडिसीका प्रमुख डा. सञ्जीव शर्माले पहिलो पटक नोना कोइराला स्मृति प्रतिष्ठानसँग सहकार्य भएको बताए । उनका अनुसार केएचडीसीको सहकार्यमा मोरङका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ ।
महासचिव श्रीवास्तवले शिविरमा उपचार गराएका मध्ये ५० प्रतिशतमा मधुमेहको समस्या देखिएको बताए ।