धरान : देशभर विभिन्न सङ्घसंस्था, पेशा, व्यवसायी र नागरिकहरूले आ-आफ्नै तरिकाले होली कार्यक्रमको आयोजना गरेर यस वर्षको होली पर्व मनाएका छन् । तर धरानमा भने नेपाली काँग्रेस र मारवाडी समुदायले एकैसाथ होली मनाएका छन् ।

नेपाली काँग्रेस, क्षेत्र नं. १ सुनसरीले धरानमा आयोजना गरेको होली मिलन तथा शुभकामना आदान-प्रदान कार्यक्रममा मारवाडी सेवा समिति र मारवाडी समुदायका दर्जन बढी सङ्घसंस्थाहरू भेला भई एकैसाथ होली मनाएका हुन् ।

मारवाडी समुदायको तर्फबाट शुभकामना मन्तव्य राख्दै मारवाडी सेवा समितिका अध्यक्ष पितरुमल अग्रवालले नेपाली काँग्रेस पार्टीले पहिलोपल्ट हाम्रो सिङ्गो समुदायलाई महान् होली पर्वमा निमन्त्रणा गरेर समुदायको सम्मान गरेको बताउँदै खुसी व्यक्त गरे ।

सो अवसरमा नेपाली काँग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मीनबहादुर विश्वकर्मा, धरानका उपमेयर आईन्द्रविक्रम वेघा, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषी राई र राजनीतिक दलहरूका तर्फबाट जनता समाजवादी पार्टीका धरान नगर अध्यक्ष ताजुब लिम्बूले शुभकामना मन्तव्य राखेका थिए भने होली पर्वसँग सम्बन्धित विभिन्न गीतहरूमा नृत्यहरू समेत प्रस्तुत गरेका थिए ।

सांस्कृतिक विविधतायुक्त देश भएकाले सबै जातजाति, भाषाभाषी, धर्मावलम्बी र संस्कृतिका समुदायले मान्ने हरेक चाडपर्वहरूलाई नेपाली काँग्रेसले सम्मानका साथ मान्दै आएको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए ।

नेपालीहरूको साझा चाडको रूपमा विकास हुँदै आएको र मारवाडी समुदायले आफ्नो विशेष पर्वको रूपमा मान्दै आएको होली पर्वको अवसरमा विशेष गरी मारवाडी समुदायलाई निमन्त्रणा गरी अन्य सम्पूर्ण समुदाय, राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, पत्रकार, जनप्रतिनिधि, समाजसेवी, उद्योगी व्यवसायी सबैलाई सहभागी गराई हर्षोल्लासका साथ होली पर्व  मनाएको सभापति तामाङले जानकारी दिए।

कार्यक्रममा मारवाडी मिड यूथ, मारवाडी महिला मञ्च, मारवाडी युवा मञ्च, नेपाल अग्रवाल सभा, नेपाल अग्रवाल महिला मञ्च, जैन श्वेताम्वर तेरापन्थी सभा, तेरापन्थी महिला मण्डल, तेरापन्थी युवा परिषद्, सुनसरी महेश्वरी सभा, नेपाल महेश्वरी महिला सङ्गठन, भगवान् परशुराम समाज, अनुब्रत समिति, श्याम परिवार, राणी सति दादी परिवार र एकल महिला विद्यालय परिवारको सहभागिता रहेको थियो ।

कार्यक्रममा काँग्रेसका प्रदेश महामन्त्री उमेश थापा, प्रदेश सांसद ममता तामाङ, प्रदेश सदस्य गणेश परियार, पूर्व नगर प्रमुख तिलक राई, प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, नगर सभापति श्याम पोखरेल, महाधिवेशन प्रतिनिधि चित्रकुमारी राई, वडा अध्यक्षद्वय नरेन्द्रकुमार राई (प्रवीण) र यज्ञमणि आचार्य, जिल्ला सदस्यहरू अनुपमा सुनुवार, रत्न रिमाल, नेपाल दलित सङ्घ प्रदेश सभापति गोविन्द दर्नाल, नेपाल तरुण दल नगर सभापति राम तामाङ लगायतको उपस्थिति रहेको थियो ।

congress-holi-5Congress-holi-1holi-congress-4congress-holi