धरान : हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार अहिले बिहान कोशी र मधेस प्रदेशमा साधारणतया बदलीको अवस्था छ।

बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।

हाल कोशी प्रदेशका केही स्थानहरूमा, मधेस प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

मंगलबार दिउँसो कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ।

कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति देशभर आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।