वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित कुम्भ मेला परिसर प्राचीन हरिद्वार चतराधाममा सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।

मङ्गलवार बिहान उक्त क्षेत्रमा सरसफाइ कार्यक्रम आयोजना गरिएको थियो । चतराधामलाई सुन्दर, सफा तथा आकर्षक बनाउन र यही चैत्र २७ गतेबाट सुरु हुने बारवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलालाई केन्द्रित गरेर सरसफाइ कार्यक्रम आव्हान गरिएको नगर प्रमुख रमेश कार्कीले बताए ।

आगमि चैत्र-२७ गतेदेखि १ महिनासम्म वराहक्षेत्र नगरपालिका वडा नं १ चतराधाममा आयोजना हुने पूर्ण महाकुम्भ मेलालाई सफल बनाउन कुम्भ मेला स्थलमा नगरपालिले सरसफाइ कार्यक्रमलाई अभियानको रूपमा सञ्चालन गर्दै आएको छ ।

कुम्भ स्तव अगाडि, कुम्भ परिसर क्षेत्रमा गरिएको सरसफाइ कार्यक्रममा नगर प्रमुख कार्की, वडाध्यक्षहरू,  वडासदस्यहरू, चतरा अस्पतालका कर्मचारी, पदाधिकारीहरू, इलाका प्रहरी कार्यालय चतराको टोली, सशस्त्र प्रहरी वेश क्याम्प चतराका टोली, राजनैतिक दलका स्थानिय प्रतिनिधिहरू, पूर्वजनप्रतिनिधिहरू, स्थानिय सङ्घ/संस्थाका पदाधिकारी एवम् स्थानीयहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

वराहक्षेत्र धाम आउने पर्यटकहरूलाई थप आकर्षित गराउन र चैत्र-२७ गतेबाट आयोजना हुने पूर्ण महाकुम्भ मेलालाई प्रचारप्रसार गर्ने उद्देश्यले सरसफाइको आयोजना गरिएको नगर प्रमुख कार्कीले बताए । कार्यभार सुरु गरेबाटै वराहक्षेत्रलाई सुन्दर र सफा नगरको रूपमा विकास गर्ने लक्ष्य सहित थालिएको सफा वराहक्षेत्र बनाउने अभियानलाई सार्थक बनाउन मेयर रमेश कार्की आफैँ सार्वजनिक स्थानमा झाडु र डस्बिन बोकेर निस्कने गरेका छन् ।