धरान : धार्मिक महाकुम्भ मेला धरान स्थित पिण्डेश्वर तीर्थस्थल सँग अन्योन्याश्रित रहेकोले यो अवसरलाई धरानको धार्मिक पर्यटक प्रवर्द्धन सँग जोड्ने कार्यक्रमहरूका बारेमा शुक्रवार छलफल भएको छ ।

वराहक्षेत्र नगरपालिका चतराधाममा १२ वर्षमा हुने पिण्डेश्वर पूर्ण महाकुम्भ मेलालाई व्यवस्थित बनाउँदै पर्यटकीय लाभ लिने कार्यक्रमका बारेमा धरानेहरु जुटेका हुन । कुम्भ मेला चैत्र २७ देखी १ महिना सम्म चल्नेछ ।

मूल आयोजक समितिका संयोजक पितरुमल अग्रवालको अध्यक्षतामा सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा भएको छलफलले विभिन्न उपसमितिहरू गठन गरेको छ । छलफलले धार्मिक पर्यटकलाई धरानको विकास र प्रवर्द्धन जोड्दै प्रचार प्रसार कार्य तीव्र बनाउने निर्णय गरेको हो ।

समितिका कोषाध्यक्ष रामस्वरूप शर्माले वराहक्षेत्रमा लाग्ने महाकुम्भ धरानको धार्मिक पर्यटन प्रबद्र्धनका लागि ठुलो अवसर भएको बताए । उनका अनुसार महाकुम्भका ३० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको छ ।

उनले भने ‘त्यसको १० प्रतिशत कुम्भ यात्री धरान ल्याउन सके धरानको सुस्ताएको आर्थिक कारोबार चलायमान हुनेछ ।’

धरान उपमहानगरपालिका महाकुम्भ मेला प्रचार प्रसार समिति संयोजक दिनेश गजमेरले महाकुम्भले पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधि चलायमान बनाउने बताए ।

कार्यपालिका सदस्य तथा खानेपानी व्यवस्थापन समिति संयोजक सिर्जना नेपालले खानेपानी व्यवस्थापनका विषयमा मेयर हर्क साम्पाङसग छलफल गरेको बताउँदै भनिन् ‘मेयर सापले भइहाल्छ भन्नु भएको छ ।’

उनका अनुसार मन्दिर, होटेल लगायतका स्थानमा पानीको व्यवस्थापनका लागि खानेपानी व्यवस्थापन बोर्डका दुई वटा ट्याङ्कर सञ्चालन गर्न तयारी गरिएको छ ।

यातायात व्यवसायी महासङ्घ कोशी प्रदेशका अध्यक्ष सरोज श्रेष्ठले यातायात व्यवस्थापनको जिम्मा लिएका छन् । उनका अनुसार धरानमा २ वटा मूल संयोजक समिति आवश्यक नरहेको बताउँदै भने ‘धरान उपमहानगरपालिकाको समिति र पितरुमल अग्रवाल नेतृत्वको समिति बिच समन्वय हुन सकेको देखिएन, सहकार्य र समन्वय आवश्यक छ ।’

उनले स्थानीय सरकार र प्रदेश सरकारको नेतृत्वले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्दा धरान जोड्ने दुवै तर्फका सडक बन्न नसकेको बताए । सडकको कारण  धरानमा यातायात व्यवसायीहरूमा असहजता बढेकोले भाडादरमा सहुलियत दरमा कायम हुन नसकेको बताए ।

उपमहानगरपालिकाको समितिमा यातायात व्यवस्थापन समितिका संयोजक धरान-१८ का वडाध्यक्ष नरेन्द्र कुमार राई प्रवीण रहेका छन् ।

धरान उपमहानगरपालिका निमित्त प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले महाकुम्भलाई व्यवस्थापन गर्न सर्वपक्षीय सर्वदलीय भेला गरेको बताए । उनले भने ‘नगरपालिका र समितिहरू सँग सहकार्य गरेर जानु उचित हुन्छ ।’

उनले पर्यटकलाई आवागमनमा सहज गर्न सडक बिस्तार कार्य तदारुकताका साथ कार्य भई रहेको बताए । हाते पर्चा, क्युआर कोड राखी धरानका सबै धार्मिक स्थलका रुटको नक्सा राख्ने तयारी भइरहेको र  धरानको चारैसुरमा वेलकम गेट, तुल ब्यानर बनाउने बताए । उनले नीति तथा कार्यक्रममा महाकुम्भका लागि बजेट विनियोजन नगरेको जानकारी दिए । तर बजेट व्यवस्थापन गर्न पनि नगरपालिका लागेको बताए ।

छलफलमा बिष्णुपादुका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष, महाकुम्भ मेलाका सहसंयोजक राज कुमार निरौलाले महाकुम्भमा आउने भक्तजनलाई धरान ल्याउन सकेमा आर्थिक गतिविधि चलायमान हुने बताए ।

छलफलले १५ सदस्यीय पिण्डेश्वर पूर्ण महाकुम्भ मेला समारोह मूल आयोजक समिति गठन गरेको छ । मूल आयोजक समितिका नगर उपाध्यक्ष पितरूमल अग्रवालको संयोजकत्वमा समिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा धरान नगर महासचिव वासुदेव गौतम रहेका छन् । कोषाध्यक्ष रामस्वरुप शर्मा र सदस्यहरूमा दुर्गा काफले, राजकुमार निरौला, विकास बनेपाली, गङ्गा प्रसाद रेग्मी लगायत छन् ।