धरान : विदेशमा बसेर लेखिएका साहित्यमा नेपालको नेस्टाल्जिक सन्दर्भहरू उल्लेख हुन्छन् भने त्यसलाई डायस्पोरिक लेखन मानिने कुरा नेपाली भाषा साहित्यका विद्वान प्राडा.टङ्कप्रसाद न्यौपानेले बताएका छन् ।

बेलायती गैरआवासीय नेपाली कृष्ण बजगाईँको हालै प्रकाशित ‘युङफ्राउ’ सङ्ग्रहमा युरोपीय मुलुकका सहरहरूको नियात्रामा नेपालको नेस्टाजिक उद्धरणहरू रहेकाले उनी डायस्पोरिक साहित्यका लेखक भएको प्राडा.न्यौपानेले बताएका हुन ।

विदेशमा बसेर पनि नेपालकै सन्दर्भ र नेपालकै कुरा मात्र लेखिएको साहित्यलाई डायस्पोरिक भन्न नसकिने बताउँदै उनले भने ‘विदेशमा बसेर विदेशका अनुभवहरूमा नेपालको सन्दर्भ गाँसेर लेखिएको साहित्य डायस्पोरिक हुन्छ ।’

धरानबाट बेलायत गएका बजगाईँको ‘युङफ्राउ’ नामक नियात्रा सङ्ग्रहको बारेमा महेन्द्र क्याम्पस नेपाली विभागद्वारा आयोजित ‘संवार्ता’ परिचर्चामा प्राडा.न्यौपानेले ‘डायस्पोरिक’ लेखनको व्याख्या गरेका हुन ।

यसअघि सह प्राडा राम्जी तिमल्सिनाले ‘युङफ्राउ’का नियात्राहरूमा युरोप, फ्रान्सका सहरहरूको वर्णमा त्यहाँका प्रकृति र विकासको मोडललाई लेखकले नेपालको प्रकृति र अवस्थासँग तुलना गरेको बताए ।

उनले भने ‘विदेशमा बसेर विदेशको अनुभवको वर्णनमा नेपालको भावनात्मक तुलना गरिएकाले नियात्रालाई डायस्पोरिक भन्न मिल्दैन ।’ लेखक विदेशमा बसे पनि उनको सिर्जनात्मक भावना नेपालमै भएको अवस्थाका कारण डयस्पोरिक भन्न नमिल्ने प्राडा. तिमल्सिनाको भनाई थियो ।

उनले यात्रा संस्मरणमा यात्राको वर्णनमा सीमित हुने तर, नियात्रा सिर्जनात्मक लेखन भएको बताए । प्राडा.तिमल्सिनाले भने ‘युङफ्राउका नियात्राहरूमा इतिहासको वर्णन साहित्यलाई ओझेलमा पार्न खोजेको पाइएको छ ।’ यसबाट पाठकलाई इतिहास पढिरहेको भ्रम हुनसक्ने उनको भनाई थियो ।

प्राडा.सागरमणि सुवेदीले बजगाईँको अघिल्लो नियात्राहरू स्नातक तहमा आफूले विद्यार्थीलाई पढाउँदै आएको उल्लेख गर्दै नयाँ सङ्ग्रह पनि पाठ्यक्रममा राख्न उपयुक्त भएको उल्लेख गरे ।

डायस्पोरिक नियात्राकार बजगाईँले ‘युङफ्राउ’ जर्मनी भाषाको शब्दबाट लिएको बताउँदै त्यसको ‘कुमारी हिमाल’ अर्थ लाग्ने बताए । स्विटजरल्याण्डको पर्यटकीय हिमाली क्षेत्रमा रहेको ‘युङफ्राउ’ लाई जस्तै नेपालका हिमाली क्षेत्रको पर्यटकीय विकास गर्न सकिने परिकल्पना आफूले गरेको बताए ।

धरानमा रहँदा कविताबाट लेखन यात्रा शूर गरेको स्रष्टा जगाई लघुकथा हुँदै नियात्रा लेखन सम्मको यात्रामा छन् । उनका ५ वटा नियात्रा सङ्ग्रहका साथै कविता, लघुकथाका दर्जन सङ्ग्रह प्रकाशित छन् । उनको साहित्य विश्वविद्यालय देखी माध्यमिक तह सम्मका पाठ्यक्रममा समावेश छन् ।

young-frew-123