विराटनगर : साँझ झमक्क परेको बेला झापाको कचनकलवल-२ स्थित गन्धर्व बस्तीमा एकाएक सुरक्षाकर्मीको सतर्कता । राती ८ बजेको बेला उनीहरू त्यहाँ अचानक कोशी प्रदेशका मुख्यमन्त्री आएको देखेर हतारमा स्वागत गर्न जुटेका थिए ।

सोमबार झापाको औपचारिक कार्यक्रम सकेपछि मुख्यमन्त्री केदार कार्की लोपोन्मुख जाति ‘गन्धर्व बस्ती’मा पुगेका थिए । उनलाई हेर्न बस्तीका गन्धर्व समुदायको भिड लाग्यो ।

खादा लगाएर सम्मान गर्नेहरूलाई उनले भने, ‘धेरै सम्मान गर्नु पर्दैन आज यही खाना खाएर बस्ने हो ।’ बस्तीका शिव गन्धर्व र उनकी पत्नीले आगनको ट्यूवेलमा थाल पखालेर खाना पस्किए । मुख्यमन्त्री कार्कीले उनीहरूसँगै खाना खाए ।

खानापछि गन्धर्व परिवारले मुख्यमन्त्रीलाई कथा र व्यथा सुनाए । नरमाया गन्धर्वले भनिन्, ‘चुनाव जितेपछि नेता देख्न पाउँदैन थियौँ, अहिले त हामीसँगै खाना खाने मुख्यमन्त्रीलाई घरमै भेट्टाएका छौँ ।’ पत्याउनै गाह्रो भएको उनले सुनाइन् ।

समाजमा अहिले पनि गाइने भनेर हेपिइने गरेको उनको गुनासो थियो । छेवैको आदर्श आधारभूत विद्यालयलाई गन्धर्व जातीको पहिचान हुने शिक्षा लागू गराई 

दिन मुख्यमन्त्रीलाई वरिपरि बसेका स्थानीयहरूले माग गरे ।

शिव गन्धर्वले भने, ‘लोप हुन लागेको सारङ्गी बाजाको संरक्षण हामीले गर्नुपर्दछ, हाम्रो संरक्षण सकारले गरिदिनु पर्यो ।’ लोपोन्मुख जातीको रूपमा गन्दर्भ जातीलाई सूचिकृत गर्न उनीहरूको माग थियो ।

पूर्वाञ्चल गन्धर्व संस्कृति उत्थान समाजका अध्यक्ष रविन गन्धर्वले भने, ‘सूचीकरण हाम्रो समुदायका लागि मुख्यमन्त्री ज्यूको पहिलो निर्णय यही हुने छ ।’

मुख्यमन्त्री कार्कीले सरकार खोज्दै जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न स्थानीयको कुरा सुन्न आएको बताउँदै भने, ‘प्रदेश सरकार समाजको वर्गलाई समान हैसियतमा ल्याउन मानवीय विकासमा जोड दिएर काममा लागेको छ ।’

कचनकलवल-२ स्थित गन्धर्व बस्तीमा ४९ घरधुरी छ । त्यहाँ गन्धर्व समुदायको जनसङ्ख्या २ सय ११ रहेको तथ्याङ्क छ । मुख्यमन्त्री कार्कीले समुदायको उत्थानका लागि सरकारले योजना ल्याउने वचन दिए ।

स्थानीय शिव गन्धर्वको घरमा खाना खाएर रात बिताएका मुख्यमन्त्रीले समाजलाई सन्देश दिन आफूले बास बसेको बताए । उनले भने, ‘अब मलाई अछुत पनि कसैले भन्छ त, म त तपाईँहरूको मा बसेँ खाना खाएँ, यो विभेद अन्त्यका लागि तपाई हामी नै लाग्नू पर्‍यो ।’

उनले स्थानीय महिला स्वास्थ्य स्वयंसेविकासँग संवाद गर्दै हुलाकी सडक अन्तरगत अधुरो अवस्थामा रहेको माई खोलाको पुलको अवलोकन गर्दै मङ्गलवार विराटनगर फर्किएका हुन् । पुलको निर्माण कार्यको गति बढाउन सरकारले ताकेता गर्ने उनले बताए ।

Gandarbha 2

Gandarbha 3