वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले घर नक्सा अभिलेखीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाले घर नक्सा शाखा मार्फत नगरपालिका क्षेत्रभित्र रहेका घरहरूको नक्सा अभिलेखीकरणका लागि वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।

शाखाले प्रत्येक वडालाई लक्षित गरेर सञ्चालनमा ल्याएको अभिमुखीकरण कार्यक्रम अन्तर्गत वडा नं. १, २, ३, ५ र ६ मा कार्यक्रम सम्पन्न भइसकेको छ । 

नगरपालिकाको कार्यपालिकाबाट भएको निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउनका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको घर नक्सा शाखाका इन्जिनियर सुरज खड्काले जानकारी दिए ।

नगरपालिकाले नगरपालिका स्थापना हुनु पूर्व बनेका स्थायी घर र संरचनाहरूको अभिलेखीकरण आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्ममा गरिसक्ने लक्ष्य राखेर कार्यक्रम अगाडि बढाएको हो । उक्त अभिमुखीकरण कार्यक्रमले अभिलेखीकरण अभियानका लागि मात्रै नभएर घर बनाउँदा नक्सा पास किन गर्ने, यसका फाइदा के हुन्छ,  शुल्क कति लाग्ने आदि जस्ता सम्बन्धित विषयमा नगरवासीलाई घर नक्सा शाखा मार्फत नगर बासीलाई अभिमुखीकरण गराउने काम समेत भइरहेको नगर प्रमुख रमेश कार्कीले बताए ।

Ghar Naksa Abhilekhikaran 2