धरान : सुनुवार सेवा समाजको प्रदेश १ दोस्रो सम्मेलन वैशाख ८ गते शनिवार हुने भएको छ ।

सम्मेलनमा प्रदेशको ११ जिल्लाबाट ३ हजार सुनुवारहरूको सहभागिता हुने व्यवस्थापन समितिका संयोजक टार्जन सुनुवारले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनका अनुसार नेपालमा सुनुवारहरूको जनसङ्ख्या २०५८ सालको तुलनामा २०६८ सालको जनगणनाको तथ्याङ्क घटेको छ । उनले भने ‘मुखिया लेखाउने चलनले जनसङ्ख्या कम देखिएको अनुमान गरिएको छ ।’

सुनुवार भाषा बोल्ने सङ्ख्या कम रहेकाले समाजले भाषा र जाती जोगाउन सुनुवार समाज लागि परेको उनले बताए ।

प्रदेश सम्मेलनले पहिचान र सङ्घीयतालाई जोड दिँदै पहिचान सहितको प्रदेश १ को नामकरणको लागि दबाब मूलक कार्यक्रम तय गर्ने बताइएको छ ।सम्मेलनको मूल नारा ‘पहिचान र समानताको लागी प्रतिबद्धता’ रहेको छ । वैशाख ८ र ९ गते चल्ने सम्मेलनको पहिलो दिन जातीय पहिरन, झाँकी सहितको र्‍याली प्रदर्शन हुनेछ ।

र्‍याली धरान-१२ स्थित पब्लिक स्कुलबाट माछा भौडी भानुचोक हुँदै सैनिक भवनमा पुगेर सभामा परिणत हुने समाजकी अध्यक्ष एसा सुनुवारले बताइन । 

सम्मेलनको उद्घाटन कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदीप सुनुवारले गर्ने छन् । सम्मेलनले नयाँ प्रदेश समिति समेत चयन गर्नेछ ।

सुनुवार समुदायको बसोबास प्रदेशको १४ वटै जिल्लामा रहे पनि ११ वटा जिल्लामा मात्र सङ्घ गठन भएका छन् ।

सुनुवारहरूको मूलथलो रामेछाप, ओखलढुङ्गा, सिन्धुली, दोलखा जिल्ला मानिने गरिएको छ ।सुनुवार समुदाय आदिवासी जनजाति समुदाय मध्ये एक हुन ।

नेपाली भाषामा सुनुवार, मुखिया भनिने जाति इतिहासमा कोईच जातिको रूपमा परिचित छ ।