धरान : विराटनगरबाट इटहरी आउँदै गरेको सिटीसफारीका चालक हाल विराटनगर-१७ बस्ने भारत बिहार अररियका मोहम्मद ईब्रानलाई २ ग्राम ८६० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इटहरी-१२ कोशी लोकमार्गमा विराटनगरबाट इटहरी आउँदै गरेको प्रदेश १-०२-००३ ह ९६०७ नम्बरको सिटी सफारी रोकी चेकजाँच गर्दा ब्राउनसुगर बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सफारी चालक मोहम्मद ईब्रानले फ्लोरेसेन्ट ज्याकेटमा प्लास्टिकमा पोको पारेर लुकाई छिपाई राखेको अवस्थामा ब्राउन सुगर बरामद भएको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले कमल गाउँपालिका-५ का ३२ वर्षीय हिक्मत धिमाल, २७ वर्षीय सुदिप धिमाल, २५ वर्षीय न्युसन राई र १८ वर्षीय पिजल धिमललाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

उनीहरूलाई २ ग्राम ३०० मिलिग्राम ब्राउन सुगर र नगद २५ हजार सहित प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।