धरान : गर्मी महिनामा विद्यार्थीहरूका कक्षा कोठामा सिलिङ फेनको अभाव भएको बेला लायन्स क्लब धरान विजयपुरका पूर्व अध्यक्ष जगत् बहादुर गुरुङले धरान-१७ स्थिति श्री माविलाई १२ थान पङ्खा प्रदान गरेका छन् ।

दिवङ्गत श्रीमती प्रेमकुमारी गुरुङको स्मृतिमा मङ्गलवार विद्यालयमा सहयोग स्वरूप पङ्खा हस्तान्तरण गरेका हुन । करिब २५ हजार रुपैयाँ मूल्यको दर्जन पङ्खा गुरुङ र उनकी छोरी लायन्स लिडर रेखा गुरुङ, निवर्तमान डिस्ट्रिक गभर्नर धिरज गुरुङले हस्तान्तरण गरेका थिए ।

पङ्खा ग्रहण गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष मदन राईले गर्मीयाम सुरु भएको अवस्थामा स्कुललाई प्राप्त पङ्खाले विद्यार्थीहरूलाई ठुलो राहत मिल्ने बताउँदै आभार प्रकट गरे ।

जगतबहादुर गुरुङले बर्सेनि श्रीमतीको स्मृतिमा सामाजिक कार्य गर्दै आइरहेका छन् । गर्मी मौसम सुरु भएसँगै कक्षा कोठामा विद्यार्थीका लागि पङ्खाको अभाव भएको विद्यालयले केही दिन अघि लायन्स क्लबलाई जानकारी गराएको थियो ।

उनले भने ‘छोरी रेखाबाट थाहा पाएपछि यो पटक श्रीमतीको स्मृतिमा स्कुललाई पङ्खा दिन पाउँदा खुसी भएको छु ।’ धरान पुतली लाइनका पुर्वगोर्खा सैनिक गुरुङ हाल युके बस्दै आइरहेका छन् ।

धरान-१७ क्षितिज टोल स्थित श्री माविमा नर्सरी देखि कक्षा १० सम्म पठनपाठन हुन्छ । स्कुललाई यसअघि लायन्स क्लबले एक हजार थान कापी र कलम समेत प्रदान गरेको थियो ।