धरान : ताप्लेजुङ फक्ताङलुङ-५ का २५ वर्षीय विशाल लिम्बुलाई झापाको मेचीनगर-६ मेची पुलबाट मङ्गलवार साँझ २ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार मेची पुलमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोलीले भारतबाट आउँदै गरेका लिम्बुलाई चेकजाँच गर्दा लागुऔषध ब्राउनसुगर बरामद भएको हो ।

यसै गरी सुनसरीको कोशी गाउँपालिका-१ मा इलाका प्रहरी कार्यालय लौकही र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले चेकजाँच गर्दा को ३५प ५५३४ नम्बरको मोटरसाइकल चालक कोशी गाउँपालिका-१ का २३ वर्षीय सुभाष कुमार यादवलाई २८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

साथै प्रदेश १-०२-०४७ प ४७६७ नम्बरको मोटरसाइकलमा सवार रामधुनी-३ का सबिन चौधरी, कोशी गाउँपालिका-१ का १९ वर्षीय रन्जन कुमार यादवलाई १ ग्राम २० मिलि ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका उनीहरूको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ ।