विराटनगर : लैङ्गिक हिंसा परिवार भित्रैबाट सुरु हुने गरेकोले त्यस्तो प्रवृत्तिलाई न्यूनीकरण गर्न श्रीमान्, श्रीमती र परिवारका सदस्यहरूको सामूहिक परिवार संवाद गर्न थालिएको छ ।

विराटनगरका जोडीहरू सहभागी गराएर महानगरपालिकाले साझा मञ्च कोकन सँगको सहकार्यमा परिवार संवाद सुरु गरेको हो । 

पहिलो चरणमा विराटनगर-८ मा ३५ जोडीलाई बेग्लाबेग्लै राखेर १० पटक परिसंवाद गरिनेछ । त्यसपछि ३५ जोडी मध्येबाट श्रीमान्, श्रीमती जोही सहित परिवारका अन्य दुई सदस्यलाई सहभागी गराएर दुई चरणमा संवाद गरिने छ ।

उपमेयर शिल्पा निराला कार्कीले मङ्गलवार वडा ८ सुकुम्वासी बस्तीमा परिवार संवाद सुरु गरिन् । परिवार संवाद कार्यक्रमले श्रीमान्, श्रीमती बिचको सम्बन्ध सुमधुर भई परिवारमा शान्ति छाउने उनले बताइन् ।

सामान्य विषयलाई लिएर सम्बन्ध विच्छेदका घटना, पारिवारिक हिंसा बढेकोले परिवार संवादलाई अझै व्यापक बनाउने लगिने उपमेयर कार्कीले बताइन् ।

परिवार संवादमा दुवैलाई बेग्लाबेग्लै राखेर सम्झाउनुका साथै दायित्वका विषयमा जानकारी गराइने कोकनकी अध्यक्ष मञ्जिता उपाध्यायले बताइन् । यसले परिवारमा भावना बुझ्ने, मदिरा सेवन कमी आउने, दुर्व्यसन, आर्थिक बोझ कम हुने र लैङ्गिक विभेद न्यूनीकरण हुने उनको भनाई छ ।

आर्थिक अभाव, वैदेशिक रोजगारी, मदिरा सेवनलगायतका कारणले परिवारमा समस्या देखिने गरेको कोकनका सल्लाहकार अधिवक्ता कोषराज न्यौपानेले बताए । वडाध्यक्ष राम पोखरेलले कार्यक्रमले पारिवारिक विवाद घटाउने बताए ।

कोकनका फिल्ड सुपरभाइजर अशोक थापा मगरले दुई चरणमा परिवार संवाद कार्यक्रम सञ्चालन गरिने बताए ।