धरान : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले कोशी प्रदेशमा कृषि तथा खाद्य प्रविधिमा केन्द्रित भएर अनुसन्धान तथा प्रवर्द्धनका कार्य गर्न धरानमा विशिष्ट कृत अनुसन्धान केन्द्र स्थापना गरेको छ ।
नाष्टको प्रज्ञा परिषद्ले २०७५ मा देशको सातै प्रदेशमा सम्भाव्यता अनुसार विषय केन्द्रित रहने गरी अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोही अनुसार कोशी प्रदेशमा कृषि तथा खाद्य प्रविधिको केन्द्र स्थापना गरिएको उपकुलपति प्राडा.दिलीप सुब्बाले बताएका छन् ।
धरान-१६ कृषि विकाश बैङ्क भवन परिसर स्थित तल्लो पट्टीको भवनमा नाष्टको कोशी प्रदेश अनुसन्धान केन्द्रको कार्यालय स्थापना गरिएको हो ।
धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले आज शुक्रवार बिहान कार्यालयको प्लेट अनावरण गरी उद्घाटन गरे । भवनको दोस्रो तल्लाको ३ कोठामा हाल अनुसन्धान केन्द्रको कार्यालय स्थापना गरिएको हो ।
कार्यालयको लागि भवनको दोस्रो तलाको फ्ल्याट कृषि विकाश बैङ्कसँग धरान उपमहानगरपालिकाले बहाल भुक्तान गर्ने गरी भाडामा लिएको हो । अहिले भाडामा सञ्चालन भएपनि केन्द्रको आफ्नै भवन बनाउने योजना उपमहानगरपालिकाले तयार गर्ने उद्घाटन समारोहमा मेयर सम्पाङले बताए ।
उपकुलपति सुब्बाले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान स्थापना भएको ४० वर्षपछि सङ्घीय संरचना अनुसार ७ मध्ये ६ प्रदेशमा छुट्टा छुट्टै विषयमा अनुसन्धान केन्द्र स्थापना भएको बताए । कर्णाली प्रदेशमा प्रदेश अनुसन्धान स्थापना गर्न बाँकी छ ।
उनले भने, ‘कोशी प्रदेशमा अनुसन्धान कार्य बाहेक उत्पादन वृद्धि, उत्पादित वस्तुको सुरक्षाका नवीन प्रविधिको प्रवर्द्धन, प्रोत्साहनको कार्यहरू पनि गरिने छ ।’
नाष्टका सचिव डा.रवीन्द्रप्रसाद ढकालले रुसमा चेर्नोविल आणविक दुर्घटना भएपछि नेपालमा विदेशबाट आउने पाउडर दूध विकिरण प्रभावित भएको कुरा नास्टको अनुसन्धानबाट खुलासा भएको स्मरण गराउँदै नेपालको विज्ञान र प्रविधिमा नाष्टको भूमिका अहंअ रहँदै आएको बताए ।
उनले नास्टले प्रयोग भएर फालिने प्लाष्टिकबाट औद्योगिक तेल उत्पादन गर्ने नयाँ खोज गरेको बताउँदै खेर जाने प्लास्टिकको नकारात्मक प्रभावको चिन्ता भइरहेको बेला सकारात्मक परिणाम पनि पाइएकाले विज्ञान र प्रविधि देशको विकाशका लागि अपरिहार्य भएको उल्लेख गरे ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्ट प्राज्ञिक सदस्य प्राडा.धनबहादुर कार्कीले धरानबाट सरकारी कार्यालयहरू उठेर गएको बेला नाष्ट जस्तो शैक्षिक, प्राज्ञिक निकायको प्रदेश स्तरीय कार्यालय स्थापना हुनु धरानेका लागि खुसीको विषय भएको बताए ।
उनले भने, ‘प्रदेश अनुसन्धान केन्द्रको स्थापनाले नाष्टसँग काठमाण्डो बाहिरका अनुसन्धान मूलक प्राज्ञिक, शैक्षिक क्षेत्रको पहुँच पनि नजिक ल्याएको छ ।’ समारोहमा मनमोहन प्राविधिक विश्वविद्यालयका रजिस्टार डा. दिलनाथ फुयलले पनि प्रदेश अनुसन्धान केन्द्रको महत्वका बारेमा प्रकाश पारेका थिए ।


































































