धरान : धरानको विष्णु मेमोरीयल स्कुलमा बुधवार आवधिक निर्वाचन प्रणालीको अभ्यास गरिएको छ ।

कक्षा छ देखि १० सम्मका करिब ७०० जना विद्यार्थीले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएको स्कुलका प्रिन्सिपल निलम श्रेष्ठले जानकारी दिए ।

माध्यमिक तहका विद्यार्थीहरूको पुस्तकमा रहेको सैद्धान्तिक पढाइलाई प्रयोगद्वारा नै सिकाइएको श्रेष्ठले जानकारी दिए ।

निर्वाचन प्रणालीमा गरिने सम्पूर्ण प्रक्रिया पुरा गरेर विद्यार्थीलाई अभ्यास गराइएको मुख्य निर्वाचन अधिकृत समेत रहेका विद्यालयका माध्यमिक तहका संयोजक शम्भु रेग्मीले जानकारी दिए । निर्वाचनमा मुख्य निर्वाचन अधिकृत बाहेक अन्य दुई जना शिक्षकलाई समेत निर्वाचन अधिकृत तोकिएको थियो ।

निर्वाचनमा मतदाताको अन्तिम नामावली प्रकाशन, कार्य योजना सहित उम्मेदवारहरूको छनौट, मनोनयन दर्ता, दाबी विरोध, उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन, निर्वाचनमा क्रममा प्रचार प्रसार तथा मौन अवधि, निर्वाचनमा पालना गर्नुपर्ने आचार संहिता जस्ता विषयहरू अभ्यासमा सिकाइएको मुख्य निर्वाचन अधिकृत रेग्मीले बताए ।

मुख्य निर्वाचन अधिकृत रेग्मीका अनुसार निर्वाचन अवधिभर बुथ तथा निर्वाचन स्थलको सुरक्षा स्काउट विद्यार्थीहरूले गरेका थिए । निर्वाचनबाट कक्षा ८, ९ र १० का विद्यार्थीहरूले एक जना स्कुल क्याप्टेन र एक जना भाइस क्याप्टेन निर्वाचित गर्नेछन् भने कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूबाट रेडक्रस सर्कलको नयाँ कार्य समिति निर्वाचित हुनेछन् ।

विद्यालयमा यस प्रकारको अभ्यासले विद्यार्थीमा निर्वाचन प्रणालीको व्यावहारिक ज्ञान र भविष्यमा निष्पक्ष मतदानमा सहयोग पुग्ने धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटिका सुनसरी सभापति उमेश थापा, उपसभापति मुकुल कायस्थ, धरान वडा नं. ९ का वडाध्यक्ष रुपेश आचार्य, टिएलओ सुमन श्रेष्ठ, कार्यपालिका सदस्य विकास भाटी, महिला नेतृ रमिता श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटिका सुनसरीका कर्मचारी किरण कार्की लगायतको उपस्थिति रहेको थियो।

Bishnu school 2Bishnu schoolBishnu school 3Bishnu school 4Bishnu school 6