धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित भागवतप्रसाद श्रेष्ठ स्मृति धर्मशालाले बिरामी उपचार गर्न आएका ५ लाख बढीलाई अहिले सम्म सेवा प्रदान गरेको छ ।

धर्मशाला स्थापनाको चौधौँ वार्षिकोत्सवमा मङ्गलवार आयोजित कार्यक्रममा सचिव प्रा.डा.विक्रम प्रसाद श्रेष्ठले उक्त जानकारी दिएका हुन।

धर्मशाला प्रा.डा.श्रेष्ठका आमा स्वर्गीय साधनादेवी श्रेष्ठले आफ्नो जीवनकालमा स्वर्गीय श्रीमान् भागवतप्रसाद श्रेष्ठको स्मृतिमा निर्माण गराएकी हुन ।

२०६५ सालमा निर्माण सुरु भएको उक्त धर्मशाला २०६७ सालमा सेवाग्राहीका लागि सञ्चालनमा ल्याउँदा सम्म कुल १ करोड ५० लाख लागत पुगेको थियो ।

वीपी प्रतिष्ठानमा बिरामी उपचार गराउन टाढाबाट आएका बिरामी कुरुवा आफन्तहरूको सुविधाका लागि धर्मशाला निर्माण गरिएको हो । प्रतिष्ठान क्षेत्रभित्र यही मात्र सुविधा सहितको धर्मशाला हो ।

धर्मशालामा कोठा चाहिनेहरूका लागि २५ वटा रुमको सुविधा छ । कमन बेडको हल ३ वटा छ । सञ्चालक समितिका कोषाध्यक्ष मुकुल कायस्थका अनुसार कमन हलमा सुत्न ओढ्ने, ओट्याउने सहित प्रतिदिन ६० रुपैयाँ शुल्क तोकिएको छ ।

२ बेडको कोठा प्रतिदिन ३५० रुपैयाँ र ठुलो कोठाको ४०० रुपैयाँ तोकिएको छ । खाना आफै पकाएर खान चाहनेलाई अलग्गै भान्सा घरको व्यवस्था छ । खाना पकाउन नभ्याउनेहरूका लागि धर्मशालाको क्यान्टिनमा किनेर खाने प्रबन्ध छ ।

भारतका ठुला अस्पतालहरूमा पाइने सुविधा जतिको नभए पनि वीपी प्रतिष्ठानमा धर्मशालाको निर्माण तथा सञ्चालनबाट उपचारका लागि बाहिरबाट आउनेहरूलाई ठुलो सुविधा जुटाइदिएको वार्षिकोत्सवका सहभागीहरूले धारणा व्यक्त गरे ।

प्रमुख अतिथि प्रतिष्ठानका रजिष्टार प्राडा.सूर्यप्रसाद सङ्ग्रौलाले धर्मशालाको स्तरोन्नतिका लागि प्रतिष्ठानबाट सहयोग जुटाउने प्रतिबद्धता जनाउँदै सञ्चालक समितिसँग नियमावली, योजना सहितको  प्रस्तावना प्रतिष्ठानमा पेस गर्न आग्रह गरे ।

वार्षिकोत्सवमा कोसी प्रदेशसभा सदस्यत्रय यशोदा कायस्थ, ममता योञ्जन तामाङ, मिना श्रेष्ठ, पूर्व नगर प्रमुख मनोज मेन्याङ्वो लगायतले शुभकामना प्रकट गरे । समारोह सञ्चालक समिति अध्यक्ष वीपीका अस्पताल निर्देशक डा.जगतनारायण प्रसादको सभापतित्वमा भएको थियो ।bhagawat-dharmasalabhagawat-prasad-shrestha-dh