धरान : धरान-१४ दुई धारेदेखि दक्षिणतर्फ रहेको नरसिंह भगवान् मन्दिरको जग्गाको छानबिन गर्न समिति गठन भएको छ। समिति गठनसँगै मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने विवादले नयाँ मोड लिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रवक्ता सहायक सिडिओ बेदराज फुयाँलका अनुसार इलाका प्रशासन कार्यालय धरानका प्रमुखको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको छ । समितिमा नापी कार्यालय धरानका प्रमुख र धरान उपमहानगरपालिकाको प्रतिनिधि सदस्य छन् ।

हाल इलाका कार्यालय धरानका प्रमुखमा अनोज घिमिरे छन् । नापी कार्यालय धरान प्रमुख पूर्ण कुमार मुखिया छन् । मालपोत कार्यालय प्रतिनिधि तथा प्रमुख राजेशप्रसाद पोखरेललाई छानबिन समितिमा राखिएको छैन ।

मन्दिरको जग्गा व्यक्तिका नाममा ल्याउन चलखेल भएको समाचार प्रकाशित भए पश्चात् प्रक्रिया रोक्न धरान ६ को वडा कार्यालयले मालपोत कार्यालयलाई पत्राचार गरेको छ । मेयर साम्पाङले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयलाई छानबिनका लागि पत्राचार गरेका थिए ।

धरानका आचार्य परिवारले मन्दिरलाई दान दिएको धरान-६ पानवारिमा ७ कट्ठा ११ धुर जग्गा छ। उक्त जग्गा ल्याउन व्यक्तिको नाममा ल्याउन वडा कार्यालयले मालपोतलाई कार्यालय सिफारिस गरेको थियो ।

फिल्डबुकमा कित्ता नं. १२५ को जग्गाधनी कैफियतको महलमा जग्गाधनी 'लालबहादुर' मात्रै लेखिएको छ । तर, यसलाई प्रमाणित गर्न धरान वडा ६ ले ‘लालबहादुर थापा मगर’ र ‘लालबहादुर’ एकै व्यक्ति भएको भनी प्रमाणित समेत गरेको थियो । फिल्डबुकमा लालबहादुर मात्र देखिएका लालबहादुरले सञ्चारकर्मीसँग जग्गा मन्दिरको भएको बताएका थिए ।

उनले जग्गा आफ्नै नाममा आए पनि मन्दिरलाई दिने समेत बताएका थिए । उनको समाचार प्रकाशित दलालबाट प्रभावित भएर बोली फेरेका छन् ।