इटहरी : नेकपा एमाले सुनसरीको आठौँ जिल्ला अधिवेशन शनिवार सुरु भएको छ । इटहरीको लायन्स क्लबमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कार्यक्रम उद्घाटन गरे ।

मनोनित सहित ७ सय ३० प्रतिनिधि सहभागी हुने अधिवेशनमा सर्वसम्मत नेतृत्वमा चयनको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेका छन् । तर स्थानीय नेता कार्यकर्ताहरू दुई समूहमा विभाजित भएपछि सहमतिको सम्भावना टरेको हो ।

अध्यक्षमा निलम खनाल र खेमराज पोखरेल दाबेदार छन् । सातौँ जिल्ला अधिवेशनमा अध्यक्षमा पराजित पोखरेल यस पटक निर्वाचन जित्ने गरी तयारीमा छन् । रेवतीरमण भण्डारीसँग १४५ मतान्तरले पराजित उनी यस पटक निर्वाचन परिणाम उल्ट्याउने दाउमा छन् । भण्डारी नेतृत्वको संस्थापन समूह भने खनाललाई विजयी गराउन लागि परेको छ ।

भण्डारी सहित केन्द्रीय सदस्यहरू लक्ष्मी गौतमले पनि खनाललाई विजयी गराउने अभियानमा छिन् । इटहरीका बहुसङ्ख्यक प्रतिनिधि सोही अनुसार तय भएका छन् । पार्टी नेतृत्वको लाइनमा लाग्नुपर्ने भन्दै प्रतिनिधि छनौटमा समेत खनाललाई मतदान गर्ने कार्यकर्ता छनौट भएका छन् ।

खनालकै पालिका वराहक्षेत्रबाट कमला मगरलाई पोखरेलको पक्षबाट उम्मेदवार बनाउने चर्चा छ । त्यस बाहेक इटहरी र धरानमा खनाल केही बलिया छन् । उता सुनसरीको दक्षिण पश्चिमको क्षेत्रमा पोखरेल बलिया छन् । यसअघि भण्डारीको पक्षमा खुलेर लागेका इनरुवा र दक्षिणी भेगका कार्यकर्ता समेत पोखरेलको पक्षमा खुल्ने देखिन्छ । उपाध्यक्षमा नन्द बस्नेत र सचिवमा पदम लिम्बुलाई उम्मेदवार बनाउने पोखरेल पक्षको तयारी छ । बाँकी प्यानलको भोली बन्द सत्र पछि टुङ्गो लाग्ने भएको छ ।

खनाललाई नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सुनसरी इन्चार्ज शेरधन राई, केन्द्रीय सदस्यहरू गौतम, जगदीश कुसियैतले समेत साथ दिएका छन् । पोखरेलको पक्षमा भने भीम आचार्यले बलियो अडान राखेका छन् ।

प्यानलको अन्तिम टुङ्गो नलागे पनि खनाल टिमबाट उपाध्यक्षमा मीन सुब्बा वा परशुराम यादवलाई उठाउने तयारी भएको छ । यादवलाई जगदीश कुसियैतले उपाध्यक्ष बनाउन दबाब दिएका छन् ।

इटहरीका यामकुमार सुब्बा समेत उपाध्यक्षको आकाङ्क्षी छन् । खनाल पक्षले समेट्ने अवस्था नभए उनी पोखरेल पक्षबाट उम्मेदवार हुने सम्भावना छ । जसको कारण इटहरीको मत पोखरेलको पक्षमा बढ्ने निश्चित छ । खनाल पक्षबाट सचिवमा हालका उपसचिव राम कोइराला र उपसचिवमा धरानकी इन्द्रकला राईलाई उम्मेदवार बनाउने तयारी छ ।