इटहरी : कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा झापा बिर्तामोडका डाक्टर राजेन्द्र अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले विर्तामोड ७ निवासी डा. अधिकारीलाई उपाध्यक्षमा नियुक्त गरिएको हो ।

मेची बहुमुखी क्याम्पसमा अर्थशास्त्रका उपप्राध्यापक समेत रहेका अधिकारीले नेपाली अर्थतन्त्रमा मुद्रा आपूर्ति र मूल्य स्तर बिचको सम्बन्ध विषयमा विद्यावारिधि गरेको बताइएको छ ।

मन्त्रिपरिषद् बैठकले मुख्य न्यायाधीवक्ताको वार्षिक प्रतिवेदन प्रदेशसभामा पेस गर्ने र राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलालाई क्यानडा जान कूटनीतिक राहदानीको लागि सङ्घीय सरकारमा सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

यस्तै सोलु दुधकुण्ड नगरपालिका सोलु, खाँदबारी नगरपालिका सङ्खुवासभा र फुङ्लिङ नगरपालिका ताप्लेजुङलाई ५ लाख २ हजार आप्रवासन केन्द्र स्थापनाको लागि बजेट पठाउने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले बताए ।