विराटनगर : ज्येष्ठ नागरिक आमाहरूलाई महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले सिनेमा देखाएकी छिन् ।

उनले विराटनगर वडा ११ का ३६ जना ज्येष्ठ नागरिक आमाहरूलाई व्यक्तिगत पहलमा निःशुल्क सिनेमा देखाएकी हुन् ।

प्रौढ आमाहरूलाई मनोरञ्जनको अवसर जुटाउँदै नेपाली चलचित्रको प्रवर्द्धन समेत हुने भएकोले ज्येष्ठ नागरिक महिलाहरूलाई सिनेमा देखाएको उपमेयर कार्कीले बताएकी छिन् ।

उनीहरूले पछिल्लो समय चर्चामा रहेका नेपाली चलचित्र ‘मनसरा’ हेरेका हुन् । नेपाली सिनेमामा देखाइने कथा, अभिनय र कलात्मक पक्षले दर्शकमा पार्ने प्रभाव बुझ्न पनि ज्येष्ठ नागरिकहरूको हेराई महत्त्वपूर्ण हुन्छ ।

व्यवसायीक मनोरञ्जन उद्योग चलचित्रमा ज्येष्ठ नागरिक पनि पात्रको रूपमा हुने भएकाले उनीहरूका लागि पनि सिनेमा मनोरञ्जनको साधन भएको उपमेयरले बताइन् ।