धरान : धरान उपमहानगरपालिकामा ८ महिना पछि प्रमुख प्रशासकीय अधिकृतको रूपमा श्रीराम ठाकुर आउने निश्चित भएको छ । उपमहानगरपालिकामा सहसचिव तहको प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार जेठ १८ गते शुक्रवार मन्त्रीस्तरिय निर्णयबाट ४ जना सहसचिव सरुवा गरिए अनुसार धरानमा सहसचिव ठाकुर आउने निश्चित भएको हो ।

उनले भने ‘सहसचिव ठाकुरले मन्त्रालयबाट धरान उपमहानगरपालिका सरुवा हुने पत्र बुझिसक्नु भएको छ ।’ प्रवक्ता पराजुलीले ठाकुर चाडै नै समय अनुकूलता मिलाएर धरान आउने बताए ।

उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ जेठ १० गते निर्वाचित भएर आएको ४ महिना पनि नपुगी प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल वीरगन्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा लिएर गएका थिए ।

पौडेल सरुवा हुने बित्तिकै प्रमुख प्रशासकीयको जिम्मेवारी उद्धवप्रसाद रिजालले सम्हाल्दै आएका थिए । रिजाल पनि ८ महिनामै सरुवा भएका थिए । उनले जाँदा जाँदै ८ महिना पनि धरानमा टिक्न गाह्रो  भएको बताएका थिए ।

रिजाल सरुवा भएको ३ महिनापछि मातृका भट्टराई २०७९ चैत्रमा प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भई आएका थिए । १ वर्षको कार्यअवधीका लागि आएका भट्टराई २०८० मङ्सिर १४ गते नै सरुवा लिएर वीरगन्ज  महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा मिलाएर हिँडेका थिए ।

उनले धरानमा ९ महिना पनि टिक्न गाह्रो भएकोले सरुवा मिलाएको बताएका थिए । भट्टराई गएको ७ महिना बितिसक्दा पनि धरानले सहसचिव तहको प्रमुख प्रशासकीय अधिकृत पाएको थिएन ।

प्रमुख प्रशासकीय अधिकृत नभएपछि मेयर साम्पाङकै निर्णयमा निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौला बनेकी थिइन् ।

निरौलासँग मेयर साम्पाङको निर्णय प्रमाणीकरण विषयमा विवाद भएपछि उनले काठमाडौँ गएर उतैबाट सरुवाको स्वीकृति लिएकी थिइन् । निमित्त समेत हिँडेपछि धरान उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन छ ।

उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन हुँदा प्रशासनबाट हुने दैनिक आर्थिक, प्रशासकीय  कार्य, निर्णय कार्यान्वयन जस्ता थुप्रै काम अवरुद्ध भएको छ । प्रशासनका कामकाज रोकिदा सेवाग्राही जनता मारमा परेका छन् ।

उपमेयर अईन्द्र विक्रम बेघाले प्रमुख प्रशासकीय अधिकृत विहीन हुँदा उपमहानगरपालिकाको प्रशासनको काम ठप्प भएको बताउँदै भने ‘जनताको सम्पूर्ण काम कागज ठप्प भएको छ ।’

उनका अनुसार आर्थिक वर्षको अन्तिम महिना लाग्दा उपभोक्ता समिति तथा ठेक्काबाट भएको कामहरूको भुक्तानी रोकिएको छ । कर्मचारीले पाउने तलब समेत रोकिएको उनले बताए ।

प्रमुख प्रशासकीय अधिकृत नभएको अवस्थामा उसले गर्ने कामकाज मेयर साम्पाङ आफै गर्दै आएका छन् । उपभोक्ता सँग सम्झौता, विभिन्न मन्त्रालयमा पत्राचार, कर्मचारी छनौट, बिदाइ, कारबाही लगायतका काम आफै गर्दै आइरहेका  छन् ।

मेयर साम्पाङले शुक्रवार साँझ फेसबुकमा धरानमा विगत ८ महिना देखि प्रमुख प्रशासकीय अधिकृत नरहेको र हाल सबै आर्थिक कारोबार ठप्प रहेको बताउँदै स्ट्याटस लेखेका थिए ।