इटहरी : इटहरीको मुख्य चोक उत्तर र दक्षिणमा दुई वटा आकाशे पुल निर्माण हुन लागेको छ ।

सडक विभागको अनुमति बिनानै ६ लेन सडक आयोजनामा उपमहानगरपालिकाले आकाशे पुल निर्माणको ठेक्का प्रक्रिया अगाडी बढाएको हो ।

निर्माण कार्यको लागि ठेक्का सम्झौता गरिसकेको उपमहानगरपालिकाले ६ लेन सडक आयोजनालाई कालोपत्रे सडक खन्न समन्वय गरिदिन आग्रह गरेको छ ।

उपमहानगरपालिकाको पत्रलाई प्रतिउत्तर दिँदै रानी विराटनगर इटहरी धरान सडक आयोजनाले सडक विभागको अनुमति लिएर आउन जवाफ फर्काएको छ ।

आकाशे पुलको जग खन्नको लागि कालोपत्रे सडक खन्नुपर्ने भएको छ । उत्तर तर्फ गोरखा डिपार्टमेन्ट आसपास र दक्षिण तर्फ जनता स्कुलको गल्ली आसपास पारेर आकाशे पुल निर्माण गर्ने उपमहानगरको तयारी छ ।

उपमहानगरपालिकाले रिजेन्सी ब्युल्डर्स प्राली सँग ठेक्का सम्झौता गरिसकेको छ । सम्झौता अनुसार काम अगाडी बढाउन सडक विभागको क्षेत्राधिकार पर्ने भएपछि विवाद भएको छ ।

उपमहानगरपालिकाले जेठ १७ गते आवश्यक समन्वयको लागि काटेको पत्रको प्रतिउत्तर आयोजनाले २१ गते फर्काएको हो ।