धरान : कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरू चिनाउनका लागि शुक्रवारदेखि इटहरीमा तीन दिने इस्टर्न ट्राभल मार्ट २०२४ हुने भएको छ।
इटहरीको पाँच तारे होटेल सोल्टी वेस्टेण्डमा उद्घाटन गरिने र कार्यक्रमको समापन झापाको मेची क्राउनमा गरिने बताइएको छ ।
कोशी प्रदेशमा सञ्चालित तारे होटलहरु, प्रदेशका मुख्य गन्तव्यहरू र धार्मिक स्थलहरू, हस्पीटालिटि म्यानेजमेन्ट कलेजहरू गरी ३० वटाभन्दा बढी स्टल रहने समितिका सचिव वासुदेव बरालले जानकारी दिए ।
नेपाल पर्यटन बोर्डको ३० लाख रुपैयाँ सहयोगमा गर्न लागिएको कार्यक्रमलाई इटहरी उपमहानगरपालिकाले ६ लाख रुपैयाँ सहयोग गर्ने बताइएको छ ।
कोशी प्रदेशका पर्यटकीय क्षेत्र तथा पर्यटन व्यवसायको विकासका लागि कार्यक्रम गर्न लागिएको संयोजक भविस श्रेष्ठले जानकारी दिए ।  उनले यो पटकको कार्यक्रममा कोशी प्रदेशमा पनि तारे होटेल छ भन्ने कुरालाई हाइलाइट गर्न लागिएको बताए ।
नेपाल तथा भारतका व्यवशायीहरुलाई जोड्ने गरी गरिएको कार्यक्रममा भारत, भुटान तथा बङ्गलादेश र नेपालका विभिन्न ठाउँहरूबाट ८० भन्दा बढी पर्यटनकर्मी, व्यवसायी तथा पत्रकारको सहभागिता रहने बताइएको छ ।