इनरुवा : अदालती अभ्यासमा आएका नयाँ वकिलहरूलाई नेपाल बार एसोसिएसन सुनसरी जिल्लाको व्यवसायीक दक्षता अभिवृद्धि तालिम बुधवार सुरु भएको छ ।

सुनसरी बारका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतका अनुसार ४ दिन चल्ने तालिममा ३५ जना बढी नयाँ कानुन व्यवसायीहरू सहभागी छन् ।

उनीहरूलाई सकारात्मक सोच, मुलुकी देवानी र मुलुकी फौजदारी कानुनको सिद्धान्त, मुद्दाको क्षेत्राधिकार, आईपर्ने समस्याहरूका विषयमा जानकारी दिइने उनले बताए ।

तालिमको उद्घाटन प्रमुख अतिथि सुनसरी जिल्ला अदालतका न्यायाधीश मुकेश उपाध्यायले गरेका थिए ।

बारका सचिव किशोरकुमार चौधरीका अनुसार तालिम कोसी प्रदेश सरकारको आन्तरिक तथा कानुन मन्त्रालयको सहयोगमा आयोजना गरिएको हो ।

उद्घाटनमा वरिष्ठ अधिवक्ता रामप्रसाद घिमिरे, बारका निवर्तमान अध्यक्ष अश्विनीकुमार भट्टराई, मोरङ उच्च वारका सचिव विनोदकुमार तिम्सिना, वरिष्ठ अधिवक्ता रमेश कोइराला लगायतले कानुन व्यवसायीहरूको पेसा हक हितका बारेमा प्रकाश पारेका थिए ।