विराटनगर : स्थानिय सरोकारवालाहरूले विराटनगरमा विद्यालय, शैक्षिक संस्था छेउछाउ भइरहेको सुर्तीजन्य पदार्थको बिक्रीमा कडाइका साथ रोक लगाउन महानगरपालिकासँग माग गरेका छन् ।
विश्व सुर्तीजन्य पदार्थ रहित दिवसमा सुर्तीजन्य एवं मद्यपान सेवनको निषेध, न्यूनीकरण, नियन्त्रण र नियमन सम्बन्धी अन्तरक्रियामा सरोकारवालाहरूले उक्त माग गरेका हुन् ।
उनीहरूले विशेषतः विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थको बिक्री र सेवनमै रोक लगाउनुपर्ने माग गरे । ‘सुर्ती उद्योगको प्रभावबाट बालबालिकालाई बचाऔँ’ नारा सहित विश्व धूम्रपान विरुद्ध दिवस शुक्रवार मनाइदैछ ।
सोही सन्दर्भमा महानगरपालिका, मोरङ स्वास्थ्य कार्यालयले पत्रकार सम्मेलन सहित सरोकारवालासँग अन्तरक्रिया आयोजना गरेको हो ।
अन्तरक्रियामा पोखरिया माविका प्राचार्य खेमराज भट्टराईले विद्यालयबाट १ सय मिटर वरिपरि सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवन गर्न नपाइने ऐनमै व्यवस्था भएपनि बिक्री भइरहेको बताए ।
पत्रकार कुमोद अधिकारी र सुशीला पाठकले चिया पसलमा विद्यार्थी उमेरका युवायुवतीले खुलेआम चुरोट खाने गरेकाले महानगरको अनुगमन त्यतातिर पनि केन्द्रित हुनु जरुरी भएको बताए ।
सुर्तीजन्य पदार्थ सम्बन्धी विद्यमान ऐन, कानुन र कार्यान्वयन अवस्थाका विषयमा डब्लूएचओका प्रतिनिधि डा. सङ्गीता राई र कृष्णकुमार देवले कार्यपत्र प्रस्तुत गरेका थिए ।
वडा ७ का अध्यक्ष मधुबाबु तिवारीले महानगरले साउन १ देखि सार्वजनिक स्थलहरूमा सुर्तीजन्य पदार्थको बिक्री, सेवनमा रोक लगाउने निर्णय गरेको जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बालबालिकालाई सुर्तीजन्य सेवनबाट बचाउन अभिभावक पनि सचेत हुनुपर्नेमा जोड दिए ।
महानगरले विराटनगर महानगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको थियो । अदालतको आदेशपछि हाल बिक्री खुल्ला भएको छ ।
स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीप यादवले सङ्घीय ऐनलाई नै टेकेर भए पनि सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा कडाइ गरिने बताए ।
मोरङका जनस्वास्थ्य अधिकृत शेखर यादवले सबैको सहकार्य र प्रयासले मात्रै सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाउन सकिने बताए ।
अन्तरक्रियामा विभिन्न विद्यालयका विद्यार्थी, प्रधानाध्यापक, शिक्षक, कर्मचारीसहित सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए ।
नेपालमा हरेक वर्ष ३९ हजार मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको तथ्याङ्कमा उल्लेख छ । उक्त तथ्याङ्क कूल मृत्युको १८ प्रतिशत हो ।
विश्वमा हरेक वर्ष सुर्तीजन्य पदार्थको सेवनका कारण ८० लाख मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।





































































