विराटनगर : प्रधानमन्त्री रोजगार कार्यक्रममा रोजगारी पाएका विराटनगरका श्रमिकहरूलाई मेयर नागेश कोइरालाले सिप सिकेर स्थायी स्वरोजगार बन्न आग्रह गरेका छन् ।
रोजगार कार्यक्रममा १०० दिन विराटनगरमा रोजगारीमा खटेका श्रमिकहरूलाई महानगरपालिकाद्वारा आयोजित सम्मान कार्यक्रममा मेयर कोइरालाले श्रमिकहरूलाई सिप सिकेर स्वरोजगार बन्न आग्रह गरेका हुन् ।
उनले भने, ‘महानगरका बेरोजगारहरूलाई स्वरोजगारीका लागि उपमहानगरपालिकाले सिप मूलक तालिमहरू सञ्चालन गर्दै आएको छ ।’
विराटनगरका १० वटा वडामा ७६ जना श्रमिकले सय दिन सम्म रोजगारी पाएका थिए । उनीहरूलाई महानगरपालिकाले सम्मान गरेको हो ।
मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला काकी, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बुधवार आयोजित कार्यक्रमका बिच खादा लगाएर सम्मान पत्र प्रदान गरे ।
उपमेयर शिल्पा निराला कार्कीले आगामी आर्थिक वर्षमा पनि रोजगार कार्यक्रमलाई निरन्तरता दिइने बताइन् ।
नमुना रोजगार सेवा केन्द्रकी सहायक सरस्वती साहका अनुसार उनीहरू वडा ६ मा ८ जना, १० मा ७ जना, ११ मा ८ जना, १२ मा ८ जना, १३ मा ७ जना, १४ मा ८ जना, १५ मा ७ जना, १६ मा ८ जना, १८ मा ८ जना र १९ वडामा ७ जनाले रोजगारी पाएका थिए ।
श्रमिकहरूलाई दैनिक ६ सय ६८ रुपैयाँका दरले मासिक पारिश्रमिक प्रदान गरिएको थियो ।






































































