विराटनगर : वर्षा याम सुरु भएसँगै विराटनगरको कतिपय सडक डुबान हुने रोगबाट महानगरलाई मुक्त गर्न यसपालि समयमै सडकको ढल र नाला सफाइ अभियानलाई महानगरपालिकाले तीव्रता दिएको छ ।

विगतमा समयमै नाला, पैनी र ढल सफा नगर्दा सामान्य वर्षामै सडक जलमग्न हुने गरेको थियो । हिउँदमै नाला सफा गरेका कारण गत वर्ष कम डुबान भएको महानगरको दाबी छ ।

अहिले मेयर नागेश कोइराला आफैँ सफाइ अभियानमा लागेका छन् । प्रदेश संसद् भवन अगाडिबाट सुरु गरिएको ढलको सफाइ विभिन्न वडामा जारी रहेको उनले बताए । बिहीबार विराटनगर-६ केशलिया रोडको नालाको सफाइको काम हेर्न पनि पुगे ।

वडाध्यक्ष हरिश्चन्द सहनी अक्षेय, भौतिक पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर अर्जुन थापालाई साथै लिएर मेयर कोइरालाले ह्युमपाइप र कल्भर्ट पनि सफा गर्न लगाई रहेका छन् ।

उनले भने, ‘स्थानीयले प्लास्टिक, बोतल, बोरा, कार्टुन लगायतका सामान नालामा विसर्जन गर्दा सफाइमा समस्या हुने गरेको छ ।’

सहज निकास हुन नालामा फोहोर नफाल्न उनी सरोकारवालाहरूलाई आग्रह गर्दै हिँडेको हुन् । ढल नाला समयमै सफा नगर्दा नालाको पानी सडकमा आएर डुबान हुने गरेको उनले बताए ।

Sadak Duban Mukta biratnagar news 2