इटहरी : इटहरीको सोल्टी होटेलमा 'इष्टर्न ट्राभल मार्ट २०२४' भव्यताका साथ उद्घाटन भयो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की तथा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले पर्यटन प्रवर्धनमा खुलेर लागिपर्ने उद्घोष गरे । 

मुख्यमन्त्री र मेयरको प्रतिबद्धता सहित साथ पाएका पर्यटन व्यवसायी समेत उत्साहित भए । भारतबाट आएका पर्यटनकर्मीहरू आयोजकको आतिथ्यले खुसी देखिन्थे । कोरोना महामारी पछि काँकडभिट्टा नाकामा अवरोध भएको कारण बङ्गलादेशका पर्यटन उद्यमी भने सहभागी हुन सकेनन् । नेपालको विभिन्न पर्यटकीय क्षेत्रका ख्यातिप्राप्त पर्यटन व्यवसायीहरूले मार्टमा सहभागिता जनाएका छन् । 

जेठ २५ शुक्रवार (आज) देखि २७ गते आइतबार सम्म कोशी प्रदेशको लागि ट्राभल्स मार्ट सुरु भएको छ । विदेशी तथा स्वदेशी पर्यटन उद्यमी तथा अभियन्तालाई प्रदेशका महत्त्वपूर्ण पर्यटकीय स्थलको भ्रमण गराउँदै लगानीको वातावरण सृजना गर्ने पर्यटकीय प्रचार गर्ने उद्देश्य राखिएको छ । 

मुख्यतः भारतको पश्चिम बङ्गाल, बिहार तथा सिक्किमका पर्यटकलाई मध्यनजर गर्दै मार्टको आयोजना गरिएको हो । मार्टको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले समाजवादको यात्रा तय गर्न राष्ट्रिय पुँजीको आवश्यकता पर्ने र राष्ट्रिय पुँजी निर्माण गर्न पर्यटन निर्विकल्प क्षेत्र भएको बताए । 

पर्यटनको लागि पूर्वाधार विकास गर्न सरकार लागि परिरहेको बताउँदै उनले योजनाबद्ध हिसाबमा काम गर्न पर्यटन व्यवसायीलाई आग्रह गरे । कोशी प्रदेशका धार्मिक तथा सांस्कृतिक पर्यटकीय सम्भावनालाई उजागर गरेर अगाडी बढ्न सरकार तयार रहेको उनको भनाइ थियो । 

विदेशी तथा स्वदेशी पर्यटन व्यवसायीहरू बिच प्रत्यक्ष संवाद मार्फत व्यवसायीक समझदारी बनाउने वातावरण सृजना गर्न लागिएको मार्टका संयोजक भविश कुमार श्रेष्ठले बताए । स्वदेश तथा विदेशका व्यवसायीहरूलाई प्याकेजमा सम्झौता गराउने र पर्यटन प्रवर्द्धनका नयाँ कार्यक्रम तय गरिने उनको भनाइ छ ।

कार्यक्रममा सम्बोधन गर्दै उनले काँकडभिट्टा नाकामा देखिएको समस्याको कारण विदेशी पर्यटक भित्राउन समस्या भएको जानकारी गराए । भारतीय पर्यटकलाई स्थानीय सरकारले जबरजस्ती पार्किङ कर उठाउने गरेको गुनासो गर्दै उनले एकद्धार प्रणालीबाट भ्रमण अनुमतिको लागि प्रदेश सरकारले पहल गर्नुपर्ने धारणा राखे । 

सन् २०१८ देखि सुरु भएको मार्ट कोरोना महामारीको कारण बिचमा स्थगित भएर यस पटक चौथो संस्करण गर्न लागिएको हो । 

इस्टर्न ट्राभल्स मार्ट २०२४ का सचिव वासुदेव बरालका अनुसार नेपाल पर्यटन बोर्ड र स्थानीय सरकारको संयुक्त लगानीमा मार्ट आयोजना भएको हो । पर्यटन बोर्डबाट ३० लाख र इटहरी उपमहानगरपालिकाको ३ लाख गरी ३३ लाख लगानीमा मार्ट सम्पन्न हुने उनले बताए  । 

कोशी प्रदेशको समग्र उत्पादनलाई सीमावर्ती भारतीय सहरमा पुर्‍याउने उद्देश्यको साथ प्रदेशका महत्त्वपूर्ण व्यापारिक तथा पर्यटकीय क्षेत्रको भ्रमण गराउन लागिएको सचिव बरालको दाबी छ । विदेशी बाहेक नेपाल भित्रैबाट लुम्बिनी, बाग्मती, गण्डकी, मधेस र अन्य प्रदेशका ५० भन्दा बढी ट्राभल व्यवसायीहरूको सहभागिता भएको उनले जानकारी दिए ।

eastern-travel-mart-1

Travel Mart 3Travel Mart 2Travel Mart 8Mart 9mart 6travel mart 4travel mart 5