इटहरी : इटहरी उपमहानगरपालिकाले बिजुली तथा टेलिकमको पोलमा झुन्ड्याइएका अव्यवस्थित तार हटाउन पहिलो सूचना प्रकाशित गरेको छ । इन्टरनेट तथा टिभीका केवल तारहरू व्यवस्थापन सम्बन्धी पहिलो १५ दिने सूचना प्रकाशित गरेको हो ।

जथाभाबी छरपस्ट रहेका इन्टरनेट तथा टेलिभिजन केवलले सहरको सौन्दर्य बिग्रिएको र दुर्घटनाको जोखिम बढेको भन्दै यथाशीघ्र हटाउन निर्देशन दिएको छ ।

बारम्बार जनधनको क्षति भइरहेको बताउँदै उपमहानगरपालिकाले अटेर गरे कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।

सूचनामा आफ्नो केवल आफै व्यवस्थापन गर्नुपर्ने, प्रयोग नभएको केवल तारहरू हटाउनुपर्ने तथा कानुन बमोजिम रजिस्ट्रेसन गर्नुपर्ने उल्लेख गरिएको छ ।