इटहरी : कोशी प्रदेश सरकारमा आर्थिक मामिला मन्त्री राम बहादुर मगरले जनताले अपेक्षा गरे अनुसार काम नभएको बताएका छन् । प्रदेश सरकारको उपलब्धि उल्लेख गर्ने क्रममा उनले प्रदेश सरकार गठन भएपछि विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भए पनि जनताले अपेक्षा गरे अनुसारको विकास नभएको बताएका हुन् ।

प्रदेशको अधिकार क्षेत्रको पूर्ण रूपमा उपयोग गर्ने गरी नीति, कानुन तथा प्रशासनिक संरचनाको अपर्याप्तता भएको भन्दै उनले बजेट मार्फत दु:खेसो पोखेका छन् । राजनीतिक सङ्क्रमण, कोभिडको प्रभाव, स्रोत साधनको सीमितता, जनशक्तिको अभाव जस्ता कारणबाट प्रदेशको विकासको गति तीव्र हुन नसकेको उनको भनाइ छ । 

प्रदेश सरकारबाट हालसम्म ३३ सरकारी र १०५ सामुदायिक गरी १३८ वटा भवन निर्माण निर्माण भएको सरकारले मगरले बताएका छन् । हालसम्म ११ वटा भ्यूटावर र १८ वटा बसपार्क निर्माण भएको उल्लेख गर्दै उनले ४७ वटा पार्क निर्माण गर्न सफल भएको सरकारले ५४ स्थानमा एकीकृत बस्ती विकास गरेको जनकारी दिए । जनता आवास कार्यक्रमबाट आर्थिक रूपले विपन्न ५ हजार ९ सय १० वटा परिवारको आवास निर्माण सम्पन्न भएको कोशी सरकारले प्रस्तुत गरेको बजेट नीति तथा कार्यक्रममा उल्लेख छ ।

कोशी प्रदेशमा ५ वटा बजेट कार्यान्वयन भइसकेको र पुँजीगत खर्च गर्ने क्षमतामा अन्य प्रदेश भन्दा कोशी प्रदेश अगाडि नै रहेको उनको दाबी छ । आर्थिक वर्ष २०७८/७९ मा विनियोजित पुँजीगत बजेटको ८९.८ प्रतिशत खर्च हुनुलाई वर्तमान सरकारले उपलब्धिको रूपमा लिएको छ । 

कोशी प्रदेशको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका र सङ्खुवासभाको भोटखोला गाउँपालिका कार्यालयमा सडक पुग्न नसकेको बताइएको छ । प्रदेश सरकारले सुरु गरेका ७८ बहुवर्षीय प्रादेशिक सडकमध्ये २२ वटा सम्पन्न भइसकेको मगरले बताए ।  

विराटनगरको शहीद रङ्गशालामा फ्लडलाइट जडान, भोजपुर रङ्गशाला लगायत ५० वटा ठुला खेल पूर्वाधारहरू निर्माण सम्पन्न भएका छन् । मुन्धुम पदमार्ग लगायत महत्त्वपूर्ण पर्यटकीय पूर्वाधारहरू निर्माण भएको सरकारको दाबी छ । 

प्रदेश सरकार गठन भए पश्चात् स्वास्थ्य तथा सामाजिक क्षेत्रमा सुधार एवम् स्रोत र साधनको वितरणमा समानता तर्फ उन्मुख हुँदै गएको बजेटमा उल्लेख छ । प्रदेशका सबै जिल्लाहरू साक्षर घोषणा भएको बताउँदै आर्थिक मामिला मन्त्री मगरले प्रति हजार जीवित जन्ममा नवजात शिशु मृत्युदर २२ रहेकोमा अहिले १९ मा झरेको बताए ।

सार्वजनिक क्षेत्रमा महिला लगायत सीमान्तकृत समुदायको सहभागिता बढेको र पछिल्लो निर्वाचनबाट कोशी प्रदेशका स्थानीय तहमा महिला प्रतिनिधित्व ४० प्रतिशत भन्दा बढी रहेको उनको भनाइ छ ।  प्रदेश स्थापना भएदेखि हालसम्म जम्मा ६२ वटा ऐन, ६४ वटा नियमावलीहरू बनेका छन् ।  

विपद् व्यवस्थापनको लागि प्रदेशका १४ वटै जिल्लामा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालन गरिएको र वारुणयन्त्र लगायतका उपकरण समेत हस्तान्तरण भएको छ । ८९ वटा प्रहरी भवन तथा ब्यारेक निर्माण गरेको सरकारले ११ वटा प्रहरी भवन निर्माणको क्रममा रहेको बताएको छ । 

सार्वजनिक, निजी, सहकारी साझेदारी तथा लगानी प्रवर्द्धन अन्तरगत भेडेटार स्काइवाक परियोजना सम्पन्न हुने चरणमा रहेको छ मगरले बताए । लगानी स्वीकृतिको चरणमा रहेका ५ वटा परियोजना र वार्ता प्रक्रियामा ६ वटा परियोजना रहेको उनको दाबी छ । राष्ट्रिय तथा प्रादेशिक आवधिक योजनाको लक्ष्य तथा दिगो विकास लक्ष्य हासिल गर्ने गरी आगामी वर्षमा आर्थिक सुधारलाई तीव्रता दिने कार्यक्रम प्रस्ताव गरेको उनले बताए ।