धरान : कुराँस खेलको तेस्रो राष्ट्रिय प्रतियोगिता आज बिहीबार देखी धरान-१६ रङ्गशाला स्थित कभर्ड हालमा सुरु भएको छ ।

कोशी प्रदेश खेलकुद विकाश बोर्डकी उपाध्यक्ष विन्दीय कार्कीले प्रतियोगिताको उद्घाटन गर्दै खेलाडीहरू राष्ट्रका सम्पत्ति भएकोले उनीहरूलाई लगानी गरे उन्नत राष्ट्र निर्माणमा सहयोग पुग्ने बताइन् ।

कुराँश सङ्घका केन्द्रीय सदस्य अशोक राईले धरानमा प्रतियोगिता सञ्चालन गर्दा विश्वभर प्रचार हुने र त्यसबाट पर्यटन प्रवर्द्धनमा सघाउन पुग्ने बताए ।

प्रतियोगितामा ७ प्रदेशका १०० जना खेलाडी, ४० जना अफिसियल सहभागी छन् । प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल पुलिस प्रदेशका खेलाडीहरूले प्रतिस्पर्धा गर्दैछन् ।

३ दिन सम्म चल्ने प्रतियोगितामा महिला जुनियरतर्फ ३६ केजीमुनि, ४० केजीमुनि, ४४ केजीमुनि, ४८ केजीमुनि, ५२ केजीमुनि, ५७ केजीमुनि, ६३ केजीमुनि र ६३ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

यसैगरी महिलाकै सिनियरमा ४० केजीमुनि, ४४ केजीमुनि, ४८ केजीमुनि, ५२ केजीमुनि, ५७ केजीमुनि, ६३ केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि प्रतिस्पर्धा हुनेछ ।

पुरुष जुनियरमा भने सात तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुष प्रतिस्पर्धामा २५ केजीमुनि, ३०  केजीमुनि, ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि र ५० केजीमाथि तौल समूह रहेको छ ।

पुरुषको सिनियरमा ४० केजीमुनि, ४४ केजीमुनि, ४८ केजीमुनि, ५२ केजीमुनि, ५७ केजीमुनि, ६३ केजीमुनि, ७३ केजीमुनि र ७३ केजीमाथि तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा खेलाडीहरूले कुल १९ स्वर्ण, १९ कास्य र ३८ रजत पदकका प्राप्त गर्ने छन् ।

विजेता खेलाडीहरूलाई १९ स्वर्ण पदक, १९ रजत पदक र ३८ कास्य पदक प्रदान गरिने छ । प्रतियोगीताका उत्कृष्ट खेलाडी १ महिला, १ पुरुषले अतिरिक्त पदक प्राप्त गर्नेछन् ।

प्रतियोगितामा खेलाडीले प्राप्त गरेको पदकको आधारमा प्रथम, द्वितीय र तृतीय टिमलाई शिल्ड प्रदान गरिने छ । उद्घाटन कार्यक्रमको सभापतित्व कोशी प्रदेश कुराँस सङ्घका अध्यक्ष दुर्गा राईले गरेका थिए । काँग्रेस धरान नगर सचिव हिमाल श्रेष्ठ, जसपा केन्द्रीय सदस्य ताजुव लिम्बु लगायत उपस्थित थिए ।