धरान : इरानमा नयाँ राष्ट्रपतिका लागि भएको मतदानमा त्यहाँ निर्वाचन कानुन अनुसार ४ जना प्रत्याशी मध्ये कसैले पनि ५० मत प्राप्त नगरेकाले अब पुनः दोस्रो चरणको मतदान हुने भएको छ ।

इरानको गृह मन्त्रालयले जनाए अनुसार मतदानमा कुनै १ उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरेकाले अब ५ जुलाईको दिन दोस्रो चरणको मतदान हुनेछ । नयाँ राष्ट्रपतिको लागि शुक्रवार मतदान भएको थियो । शनिवार मतगणनामा उक्त परिणाम आएको बीबीसीले समाचार दिएको छ ।

रोयटर्सले इरानी गृह मन्त्रालयको प्रवक्तालाई उद्धृत गर्दै मतगणना अनुसार कुल २.४५ करोड मतदाता मध्ये राष्ट्रपतिका प्रत्याशी पेजेश्कियाले १, ०४,१५, ८८१ मत प्राप्त गरे । अर्का प्रत्याशी सइद जलीलीले ९४, ७३, २९८ मत प्राप्त गरे ।

प्रवक्ता मोहसिन इस्लामीले भने ‘चुनावमा कसैले पनि स्पष्ट बहुमत पाएनन्, अब सबै भन्दा बढी मत प्राप्त गर्ने पहिलो र दोस्रो उम्मेदवारका बारेमा गार्डियन काउन्सिललाई जानकारी दिइने छ ।’ सम्भवतः अबको प्रतिस्पर्धा सुधारवादी मानिएका मसुद पेजेश्कियन र कट्टरपन्थी मानिएका साइद जलीली बिच हुनेछ ।

राष्ट्रपति चुनावमा ४ उम्मेदवार मैदानमा थिए । इरानी नियम अनुसार राष्ट्रपति पदका लागि उम्मेदवार हुन पहिले त्यहाँको गर्जियन काउन्सिलमा योग्यताको पुष्टिका लागि निवेदन दिनु पर्दछ । काउन्सिलले उम्मेदवार हुन योग्य भएको सिफारिस गरेपछि मात्र उम्मेदवार बन्न पाउने छ ।

यसरी काउन्सिलमा निवेदन दिएका ८० जना दाबेदारहरू मध्ये काउन्सिलले ६ जनालाई मात्र योग्य भएको सिफारिस गरेको थियो । तर परम्परागत रूढिवादी मत विभाजन हुने सम्भावना देखिएपछि काउन्सिलले २ जनाको उम्मेदवारी खारेज गरेको थियो ।

काउन्सिलमा इरानी सर्वोच्च नेता अयातुल्ला अलि खामेनीले नाम प्रस्ताव गर्छन । कस्ले चुनाव लड्न पाउने कस्ले नपाउने कुराको फैसला काउन्सिलले गर्दछ ।