विराटनगर : विराटनगर आसपास महानगर क्षेत्रका किसानहरूले आधुनिक कृषिका लागि आवश्यक औजार ५० प्रतिशत अनुदानमा प्राप्त गरेका छन् ।
सहरी क्षेत्रको कृषिलाई आधुनिकीकरण र यान्त्रीकरण गर्न महानगरपालिकाले समूहगत रूपमा कृषि औजार वितरण गरेको हो ।
विभिन्न वडाका कृषक समूह, कृषि सहकारी र कृषि फर्मलाई बिहीबार १९ लाख १० हजार ६०० रुपैयाँ बराबरको कृषि औजार वितरण गरिएको छ ।
उपकरण प्राप्त गर्ने समूहमा विराटनगर-१८ को महिला बिउँ उत्पादन कृषक समूहलाई मकैको थ्रेसर, वडा १६ को दरैया कृषि सहकारीलाई गहुँ थ्रेसर, विराटनगर-४ को इक्राही बहुउद्देश्यीय कृषि फर्मलाई धान थ्रेसर वितरण गरिएको छ ।
कृषि शाखा प्रमुख खगेश्वर तिम्सिनाका अनुसार न्यु लक्ष्मी कृषक समूह विराटनगर-१८ लाई धान काट्ने मेसिन (रिपर), रामजानकी कृषक समूह विराटनगर-१४ र आदर्श कृषक समूह विराटनगर-१८ लाई रोटाभेटर वितरण गरिएको छ ।
विराटनगर-१८ को न्यु जागृति कृषक समूहलाई कल्टी, शिव कृषक समूह विराटनगर-६ लाई मिनिटिलर सहित विभिन्न समूहलाई २० वटा स्प्रे मेसिन वितरण गरिएको तिम्सिनाले बताए ।
औजार वितरण मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा भएको हो ।
मेयर कोइरालाले भने, ‘महानगर क्षेत्रभित्र कृषकहरूको सङ्ख्या धेरै भएकाले कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले महानगरले औजार वितरण गरिएको हो ।’ महानगरले यसअघि ५० प्रतिशत अनुदानमा विभिन्न बिउ विजनका साथै ढुवानी अनुदानको मल समेत व्यवस्थापन गरेको छ ।