धरान : राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका छन् । राष्ट्रपतिले आज आइतबार ५ बजे ओलीलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गरेका हुन ।

प्रधानमन्त्री ओलीको शपथ ग्रहण भोली सोमवार ११ बजे हुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताएका छन् ।

चौथो पटक प्रधानमन्त्री बनेका ओलीले सोमबार नै मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको बताइएको छ । मन्त्रीहरू चयन गर्न अहिले काँग्रेस र एमाले व्यस्त छन् ।

ओली सरकारलाई समर्थन गरेका ५ दल जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी (नेपाल), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई पनि सोमबार नै सरकारमा सहभागी गराउने काँग्रेस र एमालेमा समझदारी भएको छ ।

२१ मन्त्रालयमध्ये एमालेले अर्थसहित ८ मन्त्रालय, काँग्रेसले ९ मन्त्रालय लिने ४ मन्त्रालय अन्य दललाई दिने समझदारी भएको बताइएको छ ।