धरान : सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको निर्देशनमा मङ्गलवार राती नियन्त्रणमा लिइएको ४ ट्रक खयरको काठमा आधा भन्दा बढी लकडीको टुनामा टाँचा नलगाएको भेटिएको छ ।

प्रजिअ तिवारीले भने, 'गैर कानुनी ढङ्गबाट ल्याएको खयरको काठका आधा भन्दा बढी टुनामा टाँचा छैन ।' उनले खयरको काठको नाप जाँच तथा अनुसन्धान गहन ढङ्गले रहेको बताए । सोमबार सम्म खयरको काठ गन्ती गरेर सकिएको छ ।

४ वटा गाडीमा भएको कुल टुना सङ्ख्या २७३३ को १७७५ दशमलव ८३ क्यु फिट टाँचा लागेको कुल टुना सङ्ख्या ११८१ जम्मा क्यु फिट ८४६ दशमलव ३३ रहेको छ । टाँचा नलागेको टुना सङ्ख्या १५५२ क्यु फिट ९२९ दशमलव ५ रहेको प्रजिअ तिवारीले बताए ।

नियन्त्रणमा लिइएका ४ वटा ट्रकहरू कर्णाली प्रदेश ०२-००१ ख ०४१९ गाडीमा ४४३ वटा टुनामा टाँचा लगाएको पाईएको छ ४५० टुनामा टाँचा नलगाएको बरामद भएको छ । मधेस प्रदेश ०३-००२ ख ००९५ ट्रकमा ३८९ टाँचा लगाएको ४७४ टाँचा बिनाको, बाग्मती प्रदेश ०१-००६-२१११ ट्रकमा १८३ टाँचा लगाएको २९९ टुना टाँचा नलगाएको बरामद भएको छ ।

बाग्मती प्रदेश ०१-००६ ख ३३४९ ट्रकमा १९९ टाँचा लगाएको र ३५९ मा टाँचा नलगाएको भेटिएको प्रजिअ तिवारीले जानकारी दिए ।

उनका अनुसार चालकहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान चलिरहेको छ । रामेछाप बन कार्यालयबाट ३ वटा ट्रकको छुट पुर्जी दिएकोमा धरान सम्म ४ ट्रक खयरको काठ बिना रोकटोक धरान आएको थियो ।

प्रमुख जिल्ला अधिकारी तिवारीका अनुसार उक्त विषयमा अनुसन्धानका लागि रामेछापका बन अधिकृत देवेन्द्र यादव र वनपाले डिना कुमारी डोङ तामाङलाई तत्काल डिभिजन बन कार्यालय धरानमा हाजिर गर्न पत्राचार गरे पनि हाजिर भएका छैनन् ।

उनीहरूलाई हाजिर भएसँगै कारबाहीको तयारी गरिएको छ । रामेछापबाट धरान सम्म खयरको काठ ढुवानी गर्ने ठेक्का लिएका ठेकेदार पाँचथर तुम्बेवा गाउँपालिका-३ का ५१ वर्षीय श्याम शेर सम्बाहाम्फेलाई शुक्रवार पक्राउ गरिएको थियो ।

सम्बाहाफे तरहरा बन हिरासतमा रहेका छन् । ट्रकका चालकहरू ५० वर्षीय तेजबहादुर तिम्सिना, २६ वर्षीय गणेश परियार, ३५ वर्षीय मन कुमार माझी, ३६ वर्षीय खड्ग बहादुर तामाङहरूलाई पनि हिरासतमा भएका सबैलाई बन ऐन २०७६ अनुसार कारबाही हुने भएको प्रजिअ तिवारीले बताए । उनका अनुसार धरान औद्योगिक क्षेत्र स्थित सूर्य कत्था उद्योगलाई समेत कारबाहीका लागि पत्राचार गरिएको छ ।

अनुसन्धानका बारेमा सोध्न बन कार्यालय सुनसरीका प्रमुख धर्मनाथ यादव लगायत जाँचबुझ टोलीका सब डिभिजन वन कार्यालय पाँच कन्याका अधिकृत महेश कुमार शाह र अधिकृत रमेश रेग्मीसँग सम्पर्क गर्दा कसैले फोन उठाएनन् ।

खयरको काठ प्रकरणलाई सार्वजनिक गर्न बन कार्यालय सम्बद्ध अधिकारीहरूले नचाहेको देखिएको छ । प्रमुख जिल्ला अधिकारी तिवारीले विशेष चासो राखी अनुसन्धानको अनुगमन गरिरहेका छन् । धरान-८ तीनकुनेबाट प्रजिअ तिवारी राती १० बजेको समयमा आफै उपस्थित भई निर्देशन दिएपछि प्रहरीले ट्रकहरू नियन्त्रणमा लिएको थिए ।

khayar ko kath saransa talika