• दीपक पुरी

नडाहा : बराहक्षेत्र-९ राजाबासमा हिजो सोमवार राती १२ बजेर ४४ मिनेटको बिचमा प्रहरीले गाँजा बोकेको महिन्द्रा बोलेरो जाँच गर्न रोक्न खोज्दा भागेको गाडी पछ्याउँदै पेस्तोलबाट फायरिङ गरेपछि गाँजा तस्कर गाँजा सहितको गाडी छोडेर फरार भएका छन् ।

पूर्व सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टिको प्रहरी अधिकृत विकास राईको प्रहरी टोली गाडी आउने नाकामा तैनाथ थिए । चक्रघट्टिबाट मधुवन जाँदै गरेको प्रदेश १-०१-००२ च-३५७५ नम्बरको महिन्द्रा बोलेरोलाई रोक्न खोज्दा गाडी नरोकी भागेको थियो ।

प्रहरी टोलीले पछ्याउँदै पटक-पटक रोक्न खोज्दा समेत नरोकी तीव्र गतिमा भाग्न खोजेकोले गाडी रोक्न बाध्य भई पेस्तोलबाट १ राउण्ड गोली फायर गरेपछि गाडी छोडेर चालक फरार भएको इलाका प्रहरी कार्यालय प्रमुख राईले बताए ।

गाडी चेकजाँच गर्दा कालो प्लाष्टिकले बेरेको १२ पोकामा कुल २४७ केजी लागूऔषध गाँजा बरामद भएको बताइएको छ । बरामद गाडी र गाँजा इलाका प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रहरी अनुसार फरार चालकको खोजतलास र थप अनुसन्धान भइरहेको छ ।