धरान : प्रहरीले लागुऔषध ब्राउनसुगर सहित सुन्दरहरैंचा-५ का २५ वर्षीय अभिषेक चौधरी, सुन्दरहरैंचा-४ का ३० वर्षीय उज्ज्वल सापकोटालाई मङ्गलवार विराटनगरबाट पक्राउ गरेको छ ।

कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर-१६ मा को १९ प ८५९२ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा ३ ग्राम २४ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

सोही दिन सिन्धुलीका २८ वर्षीय धनबहादुर बस्नेत ३ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर, मेचीनगर-६ धाईजनका ३० वर्षीय सोनु तामाङ र २८ वर्षीय शुरेश गुरुङ १ ग्राम ८७० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ परेका छन् ।

उनीहरूलाई अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्क बिर्तामोडको प्रहरी टोली, इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

यसैगरी कमल गाउँपालिका-१ का २९ वर्षीय मौसम लिम्बु र ३६ वर्षीय शर्मिला राईलाई इलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी टोलीले ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

उनीहरूलाई प्र-१-०१-०१५ प ७८०८ नम्बरको स्कुटर चेकजाँच गर्दा ५ ग्राम ५३० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भई रहेको छ ।