इटहरी : सौर्य एयरको विमान दुर्घटनामा मृत्यु भएका नागरिक उड्डयन प्राधिकरणको विवरणमा उल्लेखित १८ मध्ये ३ जना विराटनगरका रहेका खुलेको छ ।

दुर्घटनाग्रस्त जहाजका को–पाइलट सुशान्त कटुवाल, इन्जिनियर अश्विन निरौला र सुरक्षा प्रमुख सागर आचार्य विराटनगरका भएको सौर्य एयरलाइन्स विराटनगर स्टेसन म्यानेजर प्रकाश पौडेलले जानकारी दिएका छन् ।

दुर्घटनामा मृत्यु भएका कटुवालको घर विराटनगर–३ मा पर्दछ । उनी पूर्व जिल्ला शिक्षा अधिकारी ओमबहादुर कटुवालका छोरा हुन । मृतक इन्जिनियर अश्विन निरौलाको घर विराटनगर-१ भूपालमानसिंह कार्की मार्गमा छ ।

एरोनोटिक इन्जिनियर निरौला सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलका भान्जा थिए । मृतक सुरक्षा प्रमुख सेफ्टी चिफ सागर आचार्यको घर विराटनगर-८ मधुमारामा छ ।