इटहरी : नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले कोशी प्रदेश सरकारबाट राजीनामा दिएका छन् । नेकपा एमालेका हिक्मत कुमार कार्की नेतृत्वमा रहेको सरकारलाई समर्थन राख्दै सरकार बाट बाहिरिएको हो ।

माओवादी केन्द्रका एक जना राज्यमन्त्रीसहित चार मन्त्रीले शुक्रवार दिउँसो राजीनामा दिएका छन् । भौतिक पूर्वाधार मन्त्री गणेश उप्रेती, स्वास्थ्मन्त्री राजेन्द्र कार्की, पर्यटन मन्त्री नारायण मगर र पर्यटन, वन तथा वातावरण राज्यमन्त्री वन्दना झाँगडले  मुख्यमन्त्री कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।

केन्द्रीय सत्ता समीकरण फेरबदल भएसँगै प्रदेशमा पनि नैतिकताको आधारमा सरकारबाट बाहिरिएको दलका नेता इन्द्रबहादुर आङ्वोले जानकारी दिए । शुक्रवार बसेको बैठकले राजीनामा मात्र दिने निर्णय भएको उनले बताए ।

राजीनामा बुझ्दै मुख्यमन्त्री कार्कीले सैद्धान्तिक रूपमा मिलेको माओवादी र एमालेको सम्बन्ध भविष्य सम्म सुमधुर रहने बताए । तत्कालीन सत्ता समीकरणले फरक भूमिकामा पुगे पनि माओवादी र एमाले राजनीतिक रूपमा सँगै भएको प्रष्ट पारे ।