धरान : बहुचर्चित अन्तर्राष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’ निर्देशक मिलन चाम्सको नयाँ चलचित्र 'बर एण्ड बधु' धरान सहित देशभर भदौ १४ गते देखी प्रदर्शन हुने भएको छ ।

नयाँ फिल्ममा निर्देशक चाम्सले रोमान्टिक लभ स्टोरी लिएर आएका छन् । चलचित्र 'बर एण्ड बधु' मा उनले फरक ढङ्गबाट अधिकतम ग्ल्यामर प्रस्तुत गरेका छन् ।

चलचित्र बारे जानकारी दिन बिहीबार धरानमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक चाम्सले भने 'बर एण्ड बधु' युवा पुस्ताको प्रेम कहानी आधारित रहेको छ ।’

एलआरके प्रोडक्शनको ब्यानरमा निर्मित फिल्मका दृश्यहरू रोमनियाको सुन्दर लोकेसनमा छायाङ्कन भएको उनले बताए । फिल्म नयाँ पुस्ताका लागि आकर्षक ग्ल्यामरस बनेको निर्देशक चाम्सको भनाई छ ।

चलचित्रमा आँचल शर्मा र नव नायक विवेक कर्माचार्य  मुख्य भूमिकामा छन् । प्रेममा परेका युवा पुस्ता झुक्न नचाहने र एक अर्काको नोकझोकका रोचक कथावस्तु फिल्ममा प्रस्तुत गरिएको निर्देशक चाम्सले बताए ।

चलचित्रमा गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, सृष्टि खड्का, विजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रवीन्द्र खड्का लगायत कलाकारहरूको अभिनय गरेका छन् ।

नायक विवेक कर्माचार्यले यही चलचित्रबाट नेपाली फिल्मी दुनियाँमा डेव्यु गरेका हुन् । ‘बर एण्ड बधु’ कथा प्रदीप भारद्वाजको हो । चलचित्र निर्माता जानुमा थापा, कार्यकारी निर्माता अमित रिजाल रहेका छन्।

नेपाल र रोमानियामा छायाङ्कन गरिएको चलचित्रका छायाकार रवीन्द्र न्यौपाने र अनिश स्याङ्देन हुन । डिओपी सुदीप बरालले गरेका छन् ।