विराटनगर : क्षय हुँदै गइरहेको प्राकृतिक वातावरण संरक्षणका लागि पछिल्लो समय विश्वव्यापी रूपमा विद्युत् तथा सौर्य ऊर्जाबाट चल्ने सवारी साधनहरू प्रयोगमा आउन थालेको छ ।

नेपालमा पनि वातावरण संरक्षणलाई प्रोत्साहित गर्न इभी गाडी प्रयोगलाई प्रोत्साहित गर्न आज शनिवार  विराटनगरमा रोट्रयाक्ट क्लब अफ विराटनगर सेन्ट्रलले इभी गाडीको सचेतनामूलक र्‍याली प्रदर्शन गरेको छ ।

र्‍यालीमा विभिन्न कम्पनीका ३० वटा गाडी प्रदर्शन गरिएको रोट्रयाक्ट अध्यक्ष कुशल साहले बताए । मारवाडी सेवा सदनबाट सुरु भएको र्‍याली तीनपैनी चोक, पुष्पलालचोक, दूधफारम, बरगाछी, महेन्द्रचोक, बसपार्क, रोडशेषचोक, ट्राफिक चोक, जलजलाचोक, गोल्छा चोक हुँदै विराटनगर महानगरपालिकामा पुगेर समापन भएको थियो ।

महानगरपालिका उपमेयर कार्कीले सचेतनामूलक नारा लेखिएको स्टिकर टाँसेर र्‍यालीको शुभारम्भ गरेकी थिइन् । उनले वातावरण संरक्षण गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै नेपालजस्तो ऊर्जाको प्रचुर सम्भावना भएको मुलुकमा इभी गाडीको प्रयोग अत्यन्तै उपयुक्त भएको बताइन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र प्रहरी एसपी नवराज कार्कीले शुभकामना व्यक्त गरे ।

वातावरण संरक्षणका लागि सबै नागरिकलाई सचेत गराउन इभी गाडीको र्‍याली निकालिएको कार्यक्रम संयोजक आश्रय कोइरालाले जानकारी दिए । यसअघि क्लबले जिल्ला प्रशासन चोकदेखि कोशी अस्पतालसम्म वृक्षारोपणसमेत गरेको थियो ।

EV-biratnagar-2