दमक : दमक अस्पतालमा डायलासिस मेशिन ल्याउन ५० बेडको बनाउन जरुरी भएको दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले बताएकी छन् ।

नगरपालिकाले सञ्चालन गरेको दमक नगर अस्पतालको लागि सङ्घीय सरकारबाट उपकरणहरू जुटाउन काठमाडौँ पुगेकी उपप्रमुख भट्टराईले ३०ं लाख मूल्य बराबरको सामाग्री जुटे पनि डायलासिस मेशिन प्राप्त गर्न नसकिएको बताइन् ।

दमक अस्पतालमा डायलासिस मेशिन भएको अवस्थामा यहाँबाट मृगौलाका बिरामीहरू डाइलसिस गराउन धरान, विराटनगर जान नपर्ने सुविधा उपलब्ध हुनसक्ने उनको भनाई छ ।

उनले भनिन् 'छ सेट डायलासिस मेसिन समेत स्वास्थ्य मन्त्रालयले दिने भएको थियो, तर दमक अस्पताल ५० बेडको मापदण्ड अनुसार नभएकाले उक्त मोसिन ल्याउन सकिएन ।’ डायलासिस मेसिन पाएको भए ठुलो उपलब्धि हुने बताउँदै अस्पताललाई मापदण्डमा पुर्‍याउन जरुरी भएको बताएकी हुन ।

उपप्रमुख भट्टराईको पहलमा सङ्घीय स्वास्थ्य मन्त्रालयबाट प्राप्त सामाग्री आज आइतबार दमक आइपुगेको छ । अस्पतालको सेवा थप बढाउन सकिने सामाग्रीहरू प्राप्त भएको उनले बताइन् ।

आएका सामग्री हरूमा १० वटा बेड, भिडियो एक्स-रे मेसिन, डेलिभरी बेड, पोष्टमार्टम सेट, सक्सन मेसिन १ सेट, ईसिजी थ्रि डिजिटको १ सेट, ईनटि अप्रेसन १ सेट, सिटिजि कार्डियोग्राफी मेसिन १ सेट लगायतका सामग्रीहरू रहका छन् ।

अस्पतालका स्टोर प्रमुख श्याम राजवंशीका अनुसार अस्पतालमा आइपुगेको सामाग्रीहरूको कुल मूल्य ३० लाख रुपैयाँ बराबर रहेको छ । अस्पताललाई सुविधायुक्त बनाउन उक्त सामाग्रीहरू महत्त्वपूर्ण रहेको उनले बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण साहले प्राप्त सामाग्रीबाट अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन सहयोग पुग्ने बताए ।