धरान : नेपाली विद्यार्थीहरूको काम गर्दै पढ्ने गन्तव्य क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले विदेशी श्रमिक प्रभावित हुनसक्ने नयाँ श्रम नीतिको घोषणा गरेका छन् ।

क्यानडा सरकार देशमा अस्थायी विदेशी श्रमिक र थोरै पारिश्रमिक पाउनेहरूको सङ्ख्या घटाउने काममा लागेको उनले बताएका छन् ।

प्रधानमन्त्री टूडोले सोमवार सामाजिक सञ्जाल एक्समा गरेको गरेको पोष्ट उद्धृत गर्दै बीबीसीले लेखेको छ ‘सरकार क्यानडामा कम पारिश्रमिकमा काम गर्ने अस्थायी विदेशी श्रमिकको सङ्ख्या घटाउने काम गर्दैछ, श्रम बजार बदलिएको छ, अब हाम्रो व्यवसायका लागि कडाइ, श्रमिक र युवामा लगानी गर्ने समय आएको छ ।’

क्यानडामा गएको २ महिना भित्र बेरोजगारी बढेर ६ दशमलव ४ प्रतिशत पुगेको सन्दर्भमा प्रधानमन्त्रीले नयाँ श्रम नीतिको घोषणा सामाजिक सञ्जाल मार्फत गरेका हुन । क्यानडामा मुलुकभर बेरोजगारको अनुमानित सङ्ख्या १४ लाख जना पुगेको छ ।

मुलुक बढ्दो आबादीबाट सिर्जित समस्यासँग जुझिरहेको बेला प्रधानमन्त्रीले नयाँ कदम उठाएको त्यहाँका अर्थशास्त्रीहरूले बताएका छन् । उनीहरूको भनाई छ, बढ्दो आबादीको समस्याले आवास र स्वास्थ्य सेवा जस्तो सार्वजनिक सेवा प्रभावित भएको छ ।

क्यानडा सरकारको जनसङ्ख्या सम्बन्धी आँकडा अनुसार पछिल्लो वर्ष बढ्दो आबादीको मुख्य कारण विदेशीहरूको आप्रवासन बनेको छ ।

प्रधानमन्त्री टुडो र उनको सरकार माथि रोजगारी र आवास निर्माण जस्तो सुविधा नबढाएकोमा आलोचना बढेको छ । साथै सरकारले सुविधा बिना आप्रवासलाई बढावा दिएको आरोप लाग्दै आएको छ। नयाँ श्रम नीतिले नेपाल सहित बहिरी देशबाट क्यानडा जानेहरू प्रभावित हुनसक्ने देखिएको छ ।